नुवाकोट, माघ १९ । उपप्रधानमन्त्री ईश्वर पोखरेल चढेको गाडीलाई पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल नेतृत्वको नेतारकार्यकर्ताहरुले तोडफोडको प्रयास गरेका छन्।
उपप्रधानमन्त्री पोखरेल चढेको गाडीलाई लक्षित गरेर विद्यार्थी नेता तथा कार्यकर्ताहरुले ढुंगा प्रहार गरेका थिए। जिल्ला प्रशासन कार्यालय, नुवाकोटका प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले दिएको जानकारी अनुसार उपप्रधानमन्त्री पोखरेलको गाडीमा भने क्षति भएको छैन। ‘मन्त्रीज्यूको गाडीतर्फ लक्षित गरेर ढुंगा हानिएको थियो’, अधिकारी ढकालले मकालु खबरसँग भनेका छन्, ‘तर, गाडी र मन्त्रीज्यूलाई भने केही क्षति भएको छैन।’
अधिकारी ढकालका अनुसार उपप्रधानमन्त्री पोखरेलको गाडीलाई लक्षित गरिएको ढुंगाले छेउमै रहेको एक संस्थानको गाडीको सिसा फुटेको छ। कार्यकर्ताहरुले बल प्रयोग गर्न खोजेपछि प्रहरीले उनीहरुलाई तितरबितर बनाएको अधिकारी ढकालले बताएका छन्। सो क्रममा तीन जना कार्यकर्ताहरु घाइते भएको बताइएको छ। हाल स्थिति नियन्त्रणमा आइसकेको र मन्त्री पोखरेल कार्यक्रममा सहभागी भइरहेका छन्।


























