चितवन १९ माघ । चितवनका किसान छाती र ढाडमा विभिन्न नारा बाेकेका प्लेकार्डसहित आन्दाेलनमा हाेमिएका छन्। स्वदेशी उत्पादनले बजार मूल्य नपाउँदा भारतबाट आएका तरकारी राेक्न माग गर्दै किसानले सामूहिक आन्दाेलन थालेका हुन्। उनीहरुले बाेकेकाे प्लेकार्डमा ‘किसानमारा बिचाैलिया दललाहरु हाेसियार’, ‘विषादीयुक्त विदेशी तरकारी बहिस्कार गराैं’, ‘कृषिमा विदेशी लगानी बहिस्कार गराैं’, ‘सानाे छ खेत सानाे छ बारी सानै छ जहान, सानाे छ देश ठूलाे छ सरकार अटेन किसान’लगायतका नारा लेखिएका थिए।

भरतपुरकाे चाैबीसकाेठीमा जम्मा भएका पूर्वी र पश्चिमी चितवनका किसानकाे समूहले चाैबीसकाेठीबाट हाकिमचाेक, बसपार्कचाेक, मालपाेतचाेक हुँदै जिल्ला प्रहरी कार्यालय अगाडिकाे खाली चाैरमा बसेर दिनभरजसाे धर्ना दिएका थिए। सरकारी संयन्त्रलाई दबाब दिन र किसानमाथि भएकाे अन्याएकाे विरुद्धमा आन्दाेलन गरेकाे किसान हरिप्रसाद अधिकारीले जानकारी दिए।

चितवनमै प्रसस्त मात्रामा गाेलभेँडा उत्पादन भइरहँदा यहाँकाे उत्पादनकाे लागत खर्च पनि नउठ्ने गरी भारतबाट गाेलभेँडा ल्याएर बिक्री गरेकाे किसानकाे आराेप छ। कुनै पनि किसानलाई समयमै मल बीऊ तथा अनुदानकाे व्यवस्था गर्न नसकेकाे सरकारले किसानले गरेकाे उत्पादनलाई पनि बारीमै कुहाउनुपर्ने अवस्था सिर्जना गरेकाेले आन्दाेलनकाे विकल्प नदेख्दा सडकमै आउन बाध्य भएकाे उनले बताए।

यस्तै अवस्था भइरहने हाे भने किसानले प्रयाेग गर्ने हातहतियार र औजार सरकारलाई बुझाउने किसानहरुकाे चेतावनी छ। चितवनमै उत्पादन भएकाे गाेलभेँडाकाे लागत मूल्य नै प्रतिकिलाे २० रुपैयाँ पर्न जाने हुँदा २० भन्दा माथि बेच्नुपर्नेमा भारतबाट ९/१० रुपैयाँ किलाेमा गाेलभेँडा ल्याएर बेच्ने हुँदा स्वदेशी किसानकाे लगानी खाल्डाेमा जाकिने सम्भावना प्रचुर भएपछि त्यसकाे विरुद्ध आन्दाेलन गर्दै आएकाे नेपाली किसान संघर्ष समिति चितवनका संयाेजक लेखनाथ भुसालले बताए। चितवनका किसान लामाे समयदेखि आन्दाेलनरत छन्।



























