काठमाडौं, माघ १७ । अभिनेत्री वर्षा सिवाकोटी र सविन जंग बस्नेतको ब्रेकअप भएको छ। अमेरिकाको टेक्सासमा रहेका सविनले स्ट्याटसमार्फत वर्षाले आफूलाई धोका दिएको बताएका छन्। उनले वर्षासँगका तस्बिर सेयर गर्दै अप्ठेरो समयमा वर्षाले साथ नदिएको गुनासो गरेका छन्।
इन्स्टामा थुप्रै स्ट्याटस राख्दै सविनले लेखेका छन्, ‘ म ट्रमाटाइज्ड महसुस गरिरहेको छु। म फेरि विश्वास गर्न सक्दिन। मैले एक व्यक्तिमा सारा प्रयास र शक्ति खर्च गरेँ त्यो मेरै अगाडि फ्याँकियो। गल्ती मैले पनि गरेँ हुँदा तिम्ले पनि गर्यौ होला तर मेरो प्रेम निर्दोष थियो तर तिम्रो इगो र एटिच्युडले त्यो मारियो,’ सविनले लेखेका छन्।
सविनले वर्षा र आफ्नो प्रेम १७ महिना पुरानो भएको जनाउँदै यो अवधिमा बिताएको समय असल रहेको पनि बताएका छन्। सविन र वर्षाको प्रेम गत वर्षको दसैँयता सुरु भएको थियो। भर्चुअल कुराकानी गहिरो बन्दै गए पछि वर्षा गत सालको दसैँ लगत्तै सविनलाई भेट्न अमेरिका उडेकी थिइन्।
यो वर्ष पनि वर्षा कोरोना महामारीको पर्वाह नगरी सविनलाई भेट्न अमेरिका गएकी थिइन्। अमेरिका रहेको बेला उनले इन्स्टा र सामाजिक सञ्जालमा सविनलाई लुकाउँदै लुकाउँदै देखाउने गरेकी थिइन्। नेपाल फर्किएपछि भने वर्षा र सविनको फोटो समाचार आउन थालेको थियो र वर्षाले चाँडै नै विवाह गर्ने बताउँदै आएकी थिइन्। सविनसँग नाम जोडिनु अघि भने वर्षाको नाम निर्देशक मिलन चाम्ससँग जोडिँदै आएको थियो।


























