चितवन, माघ १७ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहालले चुनौती दिएकी छिन्। भरतपुरमा आज दुई ठुला आयोजनाहरुको शिलान्यास गर्न लागेका ओलीलाई दाहालले चुनौती दिदै प्रतिकार गर्ने चेतावनी दिएकी हुन्।
आज प्रधानमन्त्री ओलीले भरतपुरमा सिटी हल निर्माण र महेन्द्र राजमार्गको पुलचोक गोन्द्राङ सडकलाई ६ लेनको फराकिलो बनाउने योजनाको शिलान्यास गर्ने कार्यक्रम छ। महानगरपालिका प्रमुख दाहालले आफ्नो कार्यकालमा भइरहेको विकास निर्माणमा सत्ता र शक्तिको दुरुपयोग गरी जर्बजस्ती शिलान्यास गर्न लागिएको बताइन्। उनले भनिन्, यो सत्ताको दुरुपयोग गरी जर्बजस्ती गर्न लागिएको हो, हामी बहिष्कार मात्र नभई प्रतिकार नै गर्छौं।
महानगरपालिका प्रमुख रेणु दाहालले आफूले निकै मिहेनत गरी भरतपुरमा विकासको कामलाई निकै अगाडि बढाएको बताइन्। चितवनमा विकास निर्माणले गति लिइरहेको र विभिन्न आयोजनाहरु ल्याउन आफूले भूमिका खेलेको बताइन्। आयोजना ल्याउने काम आफूहरुले गरेको तर शिलान्यास गर्न अर्को पक्ष आउन लागेको भन्दै आपत्ती जनाइन्।
चितवन प्रचण्डको गृहजिल्ला हो। उनी यसअघि चितवन क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका थिए। आज प्रचण्डकै निर्वाचन क्षेत्रमा ओलीले सम्बोधन गर्ने कार्यक्रम समेत छ। भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल प्रचण्डकी छोरी हुन्। प्रधानमन्त्री ओलीले प्रचण्डको आलोचना गर्ने क्रममा छोरीलाई मेयर बनाएको विषय पनि उल्लेख गर्दै आएका छन्।

























