काठमाडौं, माघ १५ । एन आई सी एशिया बैंक लिमिटेडले चालू आ.व.को दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकले दोस्रो त्रैमासमा वार्षिक प्रति शेयर आम्दानी रू.३५.७३ आर्जन गरेको छ। बैंककोे गत वर्षको सोही अवधीको तुलनामा २.२ प्रतिशतले नाफा बढेर रू.२ अर्ब ६ करोड खुद नाफा आर्जन गरेको छ।
बैंकको यस दोस्रो त्रैमाससम्ममा कर्जातर्फ रू.५९ अर्ब ३१ करोडले वृद्धि भई कुल कर्जा रकम रू.२ खर्ब ३३ अर्ब ८ करोड पुगेको छ। साथै बैंकको स्वदेशी मुद्राको निक्षेप संकलनतर्फ रू.६७ अर्ब ३० करोडले वृद्धि गरी स्वदेशी मुद्राको निक्षेप संकलन रू. २ खर्ब ७६ अर्ब २० करोड पुर्याउन बैंक सफल भएको छ।
पुस मसान्तसम्ममा ११ अर्ब ५६ करोड ४० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ६ अर्ब ८९ करोड २८ लाख रुपैयाँ रहेको छ भने रिटेन्ड अर्निङ्गमा ७७ करोड ६६ लाख रुपैयाँ सञ्चित छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको चुक्ता पूँजी ९ अर्ब ७१ करोड रुपैयाँ हुँदा जगेडा कोषमा ५ अर्ब ५४ करोड रुपैयाँ र रिटेन्ड अर्निङ्गमा १ अर्ब ९७ करोड ५८ लाख रुपैयाँ थियो।
खुद नाफा सामान्य बढेपनि बैंकको प्रतिशेयर आम्दानी भने घटेको छ। गत आर्थिक वर्षको पुस मसान्तसम्ममा ४१ रुपैयाँ ६१ पैसा रहेको बैंकको यस्तो आम्दानी, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा घटेर ३५ रुपैयाँ ७३ पैसा कायम भएको छ। सो अवधिसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १५७ रुपैयाँ ७१ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २५.५२ गुणा रहेको छ।
समीक्षा अवधिमा बैंकको आधार दर ९.६२ प्रतिशतबाट ६.६५ प्रतिशतमा झरेको छ। त्यसैगरी, बैंकको स्प्रेड दर ५.०२ प्रतिशतबाट ४.४० प्रतिशतमा झरेको छ।


























