मुम्बई, माघ १५ । आइतबार बलिउड अभिनेता वरुण धवनले बच्चादेखिकै साथी नताशा दलालसँग विवाह गरे। बलिउडका सारा मानिसले उनीहरूलाई शुभकामना दिए। बच्चैदेखिका साथी श्रद्धा कपुर यो मामलामा पछि पर्ने कुरै थिएन। उनले पनि वरुणलाई विवाह लागि शुभकामना दिइन्।
तर जब श्रद्धा कपुरसँग अफेयरमा नाम जोडिने गरेका रोहन श्रेष्ठले पनि इन्स्टामा वरुणलाई शुभकामना दिए, यसमा वरुणको प्रतिउत्तरले धेरैलाई श्रद्धा र रोहन पनि विवाह गर्न लागेको शंकाको सुविधा दियो। रोहनले वरुणलाई लेखेका थिए , ‘शुभकामना वरुण र नताशालाई। वरुण तिमी भाग्यमानी रैछौ।’ वरुणले जवाफमा लेखेका थिए, ‘ साँच्चिकै हुँ। आशा छ तिमी पनि तयार छौ।’
वरुणको यो प्रतिउत्तरलाई रोहन र श्रद्धाको पनि विवाहको संकेतको रुपमा धेरैले अथ्र्याएका छन्। बजारमा केही समयदेखि रोहन र श्रद्धाको अफेयर रहेको खबर छ। पापाराजीले धेरै पटक दुवैलाई विभिन्न अवसरमा ‘स्पट’ गर्ने गरेका छन्। वरुणले नै संकेत गरिदिएपछि भारतीय मिडिया दुवैको विवाहको डिटेल पत्ता लगाउन सक्रिय छन्।
यही समयमा टाइम्स अफ इन्डियाले श्रद्धाको बुबा शक्ति कपुरलाई विवाहका बारेमा सोधेको थियो। जवाफमा शक्ति कपुरले रोहन मात्र होइन छोरीले विवाह गर्न चाहने जोसुकैसँग पनि आफू विवाह गराइदिन तयार रहेको बताएका छन्।
‘रोहन मात्र किन, उनले जोसँग विवाह गरेर सेटल हुन चाहन्छिन्, मेरो असहमति हुन्न,’ शक्ति कपुरले भनेका छन्। शक्ति कपुरले रोहन र श्रद्धा बच्चैदेखिको साथी भएको र घर आउने जाने गरिरहने भएकाले श्रद्धाले अहिलेसम्म विवाहको कुरा नगरेको पनि बताएका छन्।
रोहन श्रेष्ठ नेपालीमुलका फोटोग्राफर राकेश श्रेष्ठका छोरा हुन्। एजेन्सी


























