चितवन, पुस २९ । विश्वव्यापी महामारी कोभिड-१९ का कारण विदेशमा निधन भएका मकवानपुरका २ नेपालीको परिवारलाई आईएमई ले आर्थिक सहयोग गरेको छ। साउदी अरबमा निधन भएका सोहन कुमार गुरुङ र तुल बहादुर कामी का परिवारलाई राहत स्वरुप प्रति परिवार ५० हजार रुपैयाँको दरले नगद सहयोग प्रदान गरिएको हो।
हेटौडाका गुरुङकी श्रीमती विष्णु माया गुरुङ र छतिवनका कामीका छोरा युवराज विश्वकर्मालाई आईएमई का क्षेत्रीय प्रमुख सुरज पौडेलले नगद सहयोग हस्तान्तरण गरे। विदेशमा निधन भएका नेपालीका परिवारलाई सहयोगका लागि आईएमई ले आईएमई भरोसा कोष स्थापना गरेको थियो। सोही कोष अन्तर्गत मकवानपुरका दुई परिवारलाई राहत रकम वितरण गरिएको क्षेत्रीय प्रमुख पौडेलले बताए।
परिवार पाल्नकै लागि विदेश गएका व्यक्तिको उतै निधन हुँदा उक्त परिवारमा पर्न गएको वज्रपात को क्षतिपूर्ति त केहीले पनि गर्न सक्दैन, तर पनि तत्कालको लागि राहत स्वरुप आर्थिक सहयोग गरिएको पौडेलले बताए। आइएमईले विगतका वर्षहरुमा दशैं तिहार छठ लक्षित गरी सञ्चालन गर्ने गरेको सेवाग्राहीमुखी व्यापार प्रवर्द्धनात्मक कार्यक्रम यस वर्ष नगरी भरोसा कोष खडा गरेको थियो। देशभरबाट प्राप्त आवेदन बाट छनौट भएका परिवारलाई सोही कोषबाट अहिले राहत रकम वितरण भइरहेको पनि पौडेलले बताए।



























