काठमाडौं, पुस २६ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेस चुनावबाट नभाग्ने प्रष्ट पारेकाछन्। आइतबार काठमाडौंमा, प्रजातान्त्रिक विचार समाजले प्रकाशन गरेको नेपाली कांग्रेसका संस्थापक नेता सूर्यप्रसाद उपाध्याय विशेषांक विमोचन गर्दै सभापति देउवाले कांग्रेस अदालती निर्णयको प्रतीक्षामा रहेको खुलाए।
प्रधानमन्त्री केपी ओलीले गरेको संसद विघटन असंवैधानिक हो भनेरै पार्टी आन्दोलनमा गएको भन्दै उनले अदालतबाट संसद पुनस्र्थापना नभई चुनावमा जाने निर्णय सदर भए कांग्रेस मैदानबाट नभाग्ने पनि प्रष्ट पारे।
सभापति देउवाको भनाइ थियो, ‘सबैभन्दा ठूलो त जनताको अदालत हो नि। हामी किन भाग्ने ? फेरि कांग्रेस त कानुन र अदालतको सम्मान गर्ने पार्टी हो। अदालतमा विचाराधीन रहेको विषयलाई प्रभावित पार्ने काम हामी गर्दैनौं। यो कांग्रेसको परम्परा हो।’
कार्यक्रममा सभापति देउवाले सूर्यप्रसाद उपाध्यायको पार्टीमा ठूलो योगदान भए पनि सम्मान हन नसकेको स्वीकार्दै आगामी दिनमा उहाँको सम्मानमा कमी हुन नदिने बचनवद्धता व्यक्त गरे। पञ्चायतको समयमा सूर्यबाबुकै सहयोगमा देशभित्र कांग्रेस बचाउने काम भएको भन्दै उहाँले उपाध्यायको सहयोगबाटै तत्कालीन समयमा प्रजातन्त्रवादीहरुले संरक्षण पाएको पनि बताए।


























