चितवन, पुस २६ । भरतपुर खानेपानी व्यवस्थापन बोर्डमा रु दुई करोड ५६ लाख १८ हजार ३५८ महसुल बक्यौता उठ्न बाँकी रहेको छ। महसुल नतिर्नेमा सरकारी कार्यालय, विभिन्न सङ्घसंस्थादेखि व्यक्तिगत घरसम्म रहेको बोर्डका प्रशासन शाखा प्रमुख तथा सूचना अधिकारी सञ्जय बरालले जानकारी दिए।
उनका अनुसार आर्थिक वर्ष २०७६र७७ को असारसम्मा रु एक करोड ३० लाख ४८ हजार महसुल उठाउन बाँकी थियो। चालु आव २०७७र७८ को साँढे पाँच महिनामा रु एक करोड २५ लाख ७० हजार ३५८ थपिएको हो। पटक–पटक ताकेता गर्दा पनि महसुल उठाउन नसकिएको उनले बताए। नतिर्नेलाई पटक–पटक पत्राचार गरिराखिएको उनले बताए। रिडरमार्फत जानकारी पनि गराउने गरिएको छ, जति गरे पनि नतिरेमा अन्तिममा आफूहरु खानेपानीको लाइन काट्न बाध्य हुने उनको भनाइ छ।
बोर्डको कार्यक्षेत्र समग्र महानगर हो। तर, बोर्डले भरतपुरको १ देखि १६ सम्म र २२ नं वडामा खानेपानी सुविधा पुर्याएको छ। वडा नं १७ देखि २१ र २३ देखि २९ सम्मका कुनै ठाउँमा उपभोक्ता समितिमार्फत खानेपानी पुगेका छन् भने कुनै ठाउँमा पुगेका छैनन्। बोर्डले सबै ठाउँमा खानेपानी पुर्याउनका लागि काम गरिरहेको बरालले बताए। यो आवमा दुई हजार नयाँ धारा जडान गरिएको उनले बताए। हालसम्म बोर्डका ३० हजार ग्राहक छन् अर्थात् ३० हजार धारा जडान गरिएका छन्। अब ग्रामीण भेगहरुमा खानेपानी पु¥याउन बाँकी रहेको बरालको भनाइ छ। रासस


























