सर्लाही, पुस २३ । सेवाग्राहीसँग लिएको घूस रकमसहित सर्लाहीको हरिवनस्थित मालपोत कार्यालयका नायब सुब्बा र एक लेखनदास पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले ११ हजार घूस रकमसहित मालपोत कार्यालयका नायब सुब्बा बेदनिधि बराल र लेखनदास रामसुन्दर महतोलाई नियन्त्रणमा लिएको हो। सेवाग्राहीको सूचनाको आधारमा बिहीबार कार्यालय सुरु भएसँगै अख्तियारको टोलीले लेखनदास महतोलाई खान तलासी गर्दा सो रकम बरामद भएको थियो। महतोसँग सोधपुछको क्रममा र माबाइल कल रेकर्डको आधारमा नायब सुब्बा बराल पनि पक्राउ परेका हुन्। सेवाग्राहीसँग घूस रकम लिन नासु बरालले आफूलाई खटाएको महतोले अख्तियार टोली समक्ष बयान गरेका थिए।
लालपुर्जामा नाम सच्याउनका लागि ११ हजार घुस रकम लिएको सेवाग्राहीको भनाइ छ। लेखनदास महतोले पहिला १८ हजार माग गरेकोमा पछि ११ हजारमा तय भएको थियो। चिया तथा खाजा खर्च भन्दै घूस रकम माग गरेपछि सेवाग्राहीले अख्तियारलाई गुहारेका थिए। पक्राउ परेका दुवैजनालाई थप अनुसन्धानका लागि बर्दिवास कार्यालय लगिएको अख्तियारले जनाएको छ।


























