चितवन, पुस २२ । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवनको रजिष्ट्रार, सेवा आयोगको अध्यक्ष र वन सङ्कायको डिन नियुक्त गरिएको छ। रजिष्ट्रारमा प्राडा शारदा थपलिया, सेवा आयोगको अध्यक्षमा प्रा.डा. कल्याणी मिश्र त्रिपाठी र वन सङ्कायको डिनमा प्रा.डा. बलराम भट्ट नियुक्त भएका हुन्।
विश्वविद्यालयका उपकुलपति प्रा.डा. पुण्यप्रसाद रेग्मीको सिफारिसमा कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले प्रा.डा. थपलियालाई रजिष्ट्रारमा नियुक्त गरेकाहुन्। उनीसँगै प्रा.डा. भूमिनन्दन देवकोटा र प्रा.डा. केशव अधिकारीको नाम पनि उपकुलपतिले सिफारिस गरेका थिए। छनोट समितिबाट आएका नाममध्येबाट उपकुलपतिले कुलपतिलाई सिफारिस गर्नुपर्ने प्रावधान छ।
थपलियाले यसअघि विश्वविद्यालयको निमित्त उपकुलपति भई काम गरिसेका भएका छन्। गएको माघ १२ गते प्राडा मनराज कोलाक्षपतिको पदावधि सकिएपछि विश्वविद्यालयको रजिष्ट्रार पद रिक्त थियो। रजिष्ट्रार नहुँदा विश्वविद्यालयका दैनिक कामकाज प्रभावित बन्दै आएका थिए। रजिष्ट्रारकै अभावमा विश्वविद्यालय सभासमेत हुनसकेको छैन।
यसैगरी विश्वविद्यालयका सहकुलपति एवं शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको सिफारिसमा कुलपति केपी शर्मा ओलीले त्रिपाठीलाई सेवा आयोगको अध्यक्षमा नियुक्त गरेकाहुन्। तीन सदस्यीय आयोगमा कुलपतिबाट नियुक्त अध्यक्षसहित दुई जना र एकजना लोकसेवा आयोगका पदाधिकारी सदस्य रहने व्यवस्था छ। गएको साउन ५ गतेदेखि विश्वविद्यालय सेवा आयोगको अध्यक्ष पद खाली रहेको थियो।
उपकुलपति रेग्मीले भट्टराई वन सङ्कायको डिनमा नियुक्त गर्नुभएको हो। छनोट समितिले प्रा वासुदेव पोखरेल र प्रा बलराम शर्मासहित भट्टको नाम सिफारिस गरेको थियो। भट्ट यसअघि पनि सोही सङ्कायको डिन थिए। सो सङ्काय हेटौँडामा छ।
यता विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तालाबन्दी रहेको छ। यस अघि उपकुलपति रेग्मीले डिन, अनुसन्धान निर्देशकलगायतको नियुक्तीमा विधिसम्मत नगरी मनोमानी गरेको भन्दै नेपाल प्रगतिशील प्राध्यापक सङ्गठनले तालाबन्दी गरेका छन्। उनीहरुले उपकुलपतिको राजीनामाको माग समेत गरेका छन्। रासस


























