सिमकोट, पुस २२ । हिमपातपछि चिसो बढेसँगै हुम्लाको जनजीवन कष्टकर बन्दै गएको छ। हुम्ला उच्च हिमाली जिल्ला भएकाले भारी हिमपातपछि सदरमुकाम सिमकोटसहित उत्तरी नाम्खा गाउँपालिका क्षेत्रमा चिसो बढेको छ।
आइतबार अपराह्नदेखि सिमकोटलगायत जिल्लाका उच्च क्षेत्रमा हिमपात भएको र बेँसीमा वर्षा भएसँगै चिसोले जनजीवन कष्टकर बनेको हो। हिउँदयाम सुरु भएसँगै हुम्लाका सबै क्षेत्रमा अत्याधिक चिसो हुने गर्छ। सिमकोटको तापक्रम माइनसमा झरेको छ। समुद्री सतहदेखि करिब एक हजार मिटर उचाइसम्म हिमपात भएको छ।
सडकमा हिउँ जमेपछि सिमकोट आसपास चल्ने आन्तरिक सडक अवरुद्ध भएका छन्। चिसो बढ्दै गएपछि सदरमुकाम सिमकोट बजारमा बसोबास गर्दै आएका व्यापारी, स्थानीय बासिन्दा आगो ताप्दै दिन बिताइरहेका छन्। सरकारी तथा गैरसरकारी संघसंस्थाको सेवा प्रवाहमा पनि कठिनाइ भएको छ। कर्मचारीहरू हिटर तापेर काम गरिरहेका छन्। चिसोले मेलापातमा पनि समस्या भएको स्थानीयवासी कमल भण्डारीले बताए।
सदरमुकाम सिमकोट आसपासका क्षेत्र बाक्लो हिउँले ढाकिएको छ । उत्तरी हुम्लाका प्रायः बस्तीका बासिन्दाले यसअघि नै गाउँ छाडिसकेका छन्। हिमपात भएपछि सदरमुकाम सिमकोट वरिपरिका रुख र जमिन सेताम्मे बनेका छन् । आज बिहानदेखि सिमकोटमा चिसोसँगै हावाहुरी चलिरहेको छ। यहाँ थप हिमपात हुने देखिएको छ। रासस


























