चितवन, पुस १७ । रत्ननगर नगरपालिकाका मेयर नारायण वनको पहलमा चितवनको टिकौली चौरमा कृष्णसार ल्याइने भएको छ। दुर्लभ वन्यजन्तु कृष्णसार ल्याउन कार्यदलले स्थलगत अध्ययन थालेको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग अन्तर्गत बनेको सम्भाव्यता अध्ययन कार्यदलले बासस्थान र आहारलाई प्राथमिकतामा राखेर अध्ययन थालेको हो।
टिकौलीमा कृष्णसार स्थानान्तरण गर्ने गरी पुस ९ गते राष्ट्रिय स्तरमा कार्यदल बनाएको थियो। रंगशाला निर्माणको लागि सरकारले बजेट बिनियोजन गरेर पनि सफल हुन नसकेको टिकौलीचौरमा हरिण प्रजातीको कृष्णसार ल्याउने गरी अध्ययन सुरु भएको रत्ननगरका मेयर वनले बताए।
कार्यदलका संयोजक तथा विभागका इकोलोजिष्ट हरिभद्र आचार्य नेतृत्वको टोलीले टिकौलीचौरको अबस्था,वासस्थान र आहार,स्थानान्तणको उपयुक्त समय,कृष्णसार राख्ने क्षेत्रको संरक्षण र व्यवस्थापनको मोडालिटी तथा अनुमानित लागतको विषयमा अध्ययन गरेको हो। कार्यदलले रत्ननगरको टिकौलीचौर कृष्णसारको बासस्थान र आहारको हिसाबले उपयुक्त रहेको निष्कर्ष निकालेको छ। क्षेत्रफल सिमित भएपनि बासस्थान र आहारको हिसाबले टिकौलीचौर कृष्णसारका लागि उपयुक्त देखियो कार्यदलका संयोजक आचार्यले भने अझैपनि घाँस र पानीको श्रोतका बारेमा शुष्मरुपमा अध्ययन गर्नेछौं।
टिकौलीचौरको ४० हेक्टर क्षेत्र कृष्णसारका लागि उपयुक्त रहेको छ। उक्त क्षेत्रफलमा पहिलो चरणमा २५ देखि ३० वटा कृष्णसार स्थानान्तरण गरेर ल्याउन सकिने उनको भनार्इं छ। सन १९६० मा नेपालमा कृष्णसारको संख्या ९ वटामा झरेको थियो। संरक्षणको प्रयोस गर्दागर्दै अहिले बर्दिया निकुञ्जको खैरापुरमा रहेको कृष्णसार संरक्षित क्षेत्रमा करिब ३०० र शुक्लाफाटा वन्यजन्तु आरक्षमा १२१ को हाराहारिका कृष्णसार रहेको तथ्याङक विभागसंग रहेको छ। संकटमा परिसकेको कृष्णसार पछिल्लो समय बृद्धि हुँदै गएको भन्दै इकोलोजिष्ट समेत रहेका कार्यदलका संयोजक आचार्यले यसलाई बचाउन साना साना कुरामा ध्यान दिनु पर्छ।
राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख डा.वाबुराम लामिछानेले कृष्णसारले खुल्लाचौर मन पराउने भएकोले टिकौली उपयुक्त हुने बताए। यो क्षेत्र कृष्णसारका लागि धेरै राम्रो र धेरै नराम्रो पनि होइन उनले भने बासस्थान र आहारको व्यवस्थापन गर्न सकियो भने अस्थित्व रक्षा गर्न सकिन्छ। रत्ननगरका मेयर वनले पर्यटन विकासको लागि कृष्णसार कोसेढुंगा सावित हुने भन्दै स्थानीय सरकारले आवश्यक सहयोग गर्ने बताए। कृष्णसार जोगाउन चुनौती हुन सक्छ उनले भने त्यसको सामना गर्न हामी तयार छौं।


























