काठमाडौं, पुस १३ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद विघटनबारे अदालतले गर्ने निर्णण कांग्रेसलाई मान्य हुने बताएका छन्। सोमवार भक्तपुर क्षेत्र नम्बर २ मा कांग्रेसले आयोजना गरेको विरोध कार्यपछिको सम्बोधनमा उनले यस्तो बताएका हुन्।
सभापति देउवाले केपी शर्मा ओली नेतृत्वको सरकारले असंवैधानिक र अप्रजातान्त्रिक कदम चालेकाले आफू सडकमा उत्रिएको बताए। उनले संसद विघटनको मुद्दा अदालतमा विचाराधीन रहेकाले अदालतको फैसलामा आफूहरुलाई मान्य हुने बताए।
सम्बोधनका क्रममा देउवाले भने, ‘संसद् विघटनको मुद्दा अदालतमा छ, हाम्रो पार्टी अदालतको निर्णय मान्ने पार्टी हो, हामी मान्छौं।’ उनले कांग्रेस पञ्चायती व्यवस्थामा पनि अदालतको निर्णय मान्ने पार्टी भएको बताए। ‘कम्युनिस्ट सरकार आएपछि अदालत पनि डराएको छ, स्वविवेकले अदालतले जे फैसला गर्छ, त्यो हामीलाई मान्य छ,’ देउवाले भने।
साथै उनले संसद् विघटन र सरकारले गरेका कामका कारण विरोध प्रदर्शन जारी राख्ने पनि बताए। उनले ओलीको सरकार अलोकतान्त्रिक, अप्रजातान्त्रिक भएको कांग्रेसले घोषणा गरिसकेको बताए।


























