विराटनगर, पुस १२ । नेकपाको केन्द्रको विवाद प्रदेश सरकारमा पनि देखिएको छ। आज प्रदेश १ सरकारका तीन मन्त्रीले राजीनामा दिएका छन्। सामाजिक विकास मन्त्री जीवन घिमिरेसहित सोही मन्त्रालयका राज्यमन्त्री जसमाया गजमेर र उद्योग पर्यटन, वन तथा वातावरण राज्यमन्त्री विजयकुमार विश्वासले राजीनामा दिएका छन्।
पछिल्लो राजनीतिक घटनाक्रमले गर्दा वर्तमान प्रदेश सरकारको मन्त्री र राज्यमन्त्रीको जिम्मेवारीमा रही काम गर्न असमर्थ रहेको जनाउँदै तीन मन्त्रीले राजीनामा दिएको उल्लेख गरेका छन्। शनिबारमात्र मुख्यमन्त्री शेरधन राईले प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री ईन्द्रबहादुर आङ्बोलाई मन्त्री पदबाट हटाएका थिए। योसँगै प्रदेश नम्बर १ मा मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी गरिएको छ।
आङ्बोको नेतृत्वमा मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी गरिएको हो। पदबाट हटाइएलगत्तै आङ्बोले अविश्वासको प्रस्ताव दर्ता गर्न मुख्यमन्त्रीले बाटो खोलिदिएको बताएका थिए। उनले अब आफ्नो अगुवाइमा अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी गरेको बताए।
पूर्वमाओवादी नेता आङ्बो अहिले प्रचण्ड–नेपाल समूहमा छन्। मुख्यमन्त्री राई प्रधानमन्त्री ओली निकट मानिन्छन्। ९३ सदस्यीय प्रदेश सभामा नेकपाका ६७ सांसद छन्। त्यसमध्ये प्रचण्ड-नेपाल पक्षका ४७ जना र ओली पक्षका २० जना मात्रै रहेको दावी गरिएको छ।


























