पुस ११ । अमेरिकाको टेनिसी राज्यको नाशभिल शहरमा पार्क गरि राखिएको भ्यान बिस्फोट भएको छ। स्थानीय समय अनुसार शुक्रबार (क्रिसमस डे) बिहानै बिस्फोट हुँदा तीनजना घाइते भएका छन्। बिस्फोटका कारण राज्यभरको सञ्चार सम्बन्धमा समस्या उत्पन्न भएको जनाइएको छ।
बिस्फोट भएको क्षेत्र नजिकबाट मानव शरीरको सम्भावित अवेषहरु फेला परेको अमेरिकी सञ्चारमाध्यमले बताएका छन्। तर त्यो अवेष मानवको हो होइन भन्ने यकिन भएको छैन।
सुरक्षाकर्मीले गोली प्रहारको घटना नियन्त्रणका लागि प्रयास गरिरहेका थिए। उनीहरुले सोही क्रममा चेतावनी युक्त सन्देश प्रशारण गरिरहेको क्याम्पर भ्यान फेला पारेका हुन्। त्यसको केही मिनेटपछि नै भ्यान बिस्फोट भएको हो। सो भ्यान शुक्रबार नै सो क्षेत्रमा आइपुगेको स्थानीय प्रहरीले जनाएको छ।टेलिकम जाइन्ट एटी एण्ड टी को भवन बाहिर बिस्फोट भएको हो।
अहिलेसम्म बिस्फोटको कारण वा उद्देश्य तथा कसले गराएको भन्ने खुलेको छैन। समाचार संस्था एपीका अनुसार प्रहरीले छानबिनका लागि केही मानिसहरुसँग सोधपुछ गरेको छ। बिस्फोटका बेला भ्यान भित्र कोही थिए या थिएनन् भन्ने पनि खुलेको छैन। एजेन्सी


























