पुस ९ । इथियोपियामा बन्दुकधारीको आक्रमणमा परेर एक सय जनाभन्दा बढीको मृत्यु भएको छ। इथियोपियाको पश्चिमी बेनिशांगुल गुमुज क्षेत्रमा बन्दुकधारीहरुको आक्रमणबाट एक सय जना भन्दा बढीको मृत्यु भएको हो।
आक्रमण विद्रोहीहरुको पकड रहेको मेटेकल जोनको बुलेन काउन्टीको बेकोजी गाउँमा भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन्। धेरै जातिय समूहहरुको बसोबास रहेको उक्त स्थानमा लामो समयदेखि जातिय हिंसा हुँदै आएको बताइएको छ।
इथियोपियामा सन् २०१८ मा अबि अहमद प्रधानमन्त्रीमा नियुक्त भएसँगै विद्रोहीले आक्रमणलाई तीव्र पारेका छन्। सरकारले सुशासनका लागि काम गर्न नसकेको भन्दै विद्रोहीहरुले सरकार विरुद्धको आन्दोलनका क्रममा सर्वसाधारणको हत्या गर्न थालेको बताइएको छ।
यता सरकारले भने आगामी वर्ष हुने निर्वाचनको तयारीका लागि शासकीय सुधारका काम गरिरहेको बताएको छ। तर विद्रोहीले आफ्ना हिंसात्मक गतिविधि बढाएपछि सर्वसाधारण हिंसाको शिकार बनेका छन्।


























