काठमाडौं, पुस ८ । पश्चिमी वायुको प्रभावले आज देशका अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली हुने भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिमी वायुको प्रभावले प्रदेश नं १, वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली हुने छ।
पश्चिमी वायु कमजोर अवस्थामा रहेकाले वर्षा हुने सम्भावना भने नरहेको मौसमविद् प्रतिभा मानन्धरले बताए। अबका केही दिन देशका अधिकांश भूभागमा बिहान हुस्सु तथा तुवाँलो लाग्ने र मध्याह्नदेखि घाम लाग्ने बताइएको छ। हाल गण्डकी, लुम्बिनी, वाग्मती, कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा आंशिक बदली छ।
राति वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ३ दशमलव ६ डिग्री र अधिकतम तापक्रम १९ दशमलव ८ डिग्री सेल्सियस छ। त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस ३ दशमलव ४ डिग्री र सबैभन्दा धेरै भैरहवाको न्यूनतम तापक्रम ९ दशमलव शून्य डिग्री सेल्सियस छ। रासस


























