काठमाडौं, पुस ६ । सत्तारूढ नेकपाभित्रको आन्तरिक विवादका कारण दुई अध्यक्षहरू केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) आ-आफ्नै गुटभेलामा आन्तरिक छलफलमा जुटेका छन्। नेकपाका कार्यकारी अध्यक्ष दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको गुट भेला नयाँ बानेश्वरमा सुरु भएको छ। भेला संघीय संसद् भवनको ल्होत्से भवनमा सुरु भएको हो।
केपी शर्मा ओलीले भने आज (सोमबार) बिहानै बालुवाटारमा आफू पक्षका नेताहरूको भेला गरेका थिए। दाहाल नेपाल पक्षको भेलाले हिजोको स्थायी कमिटी बैठकले ओलीलाई अनुशासनको कारबाहीका गरेको सिफारिस माथि छलफल गर्ने बताइएको छ। भोली मंगलबार नेकपाको केन्द्रीय समितिको बैठक बस्दै छ। बैठक अघि दुवै अध्यक्ष नेता तानातानमा लागेको छन्।
दाहाल–नेपाल पक्षले आफू निकटका नेतासँग छलफल सुरु गरेका हुन्। प्रचण्डले पछिल्लो घटनाक्रमबारे सांसदहरुलाई ब्रिफिङ गरी कसरी अघि बढ्ने भन्नेबारे परामर्श गर्न लागेको सचिवालय स्रोतले जनाएको छ। सभामुखको विशेषाधिकार प्रयोग गरी संसद अघि बढाउने विकल्पमा पनि प्रचण्डले परामर्श गर्नेछन्। आन्तरिक रणनीति बनाउनु अघि प्रचण्ड गृहमन्त्रीसमेत रहेका रामबहादुर थापालाई भेटेर बानेश्वर पुगेका हुन्।


























