काठमाडौं, पुस ६ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कारवाही थालिएको जानकारी निर्वाचन आयोगमा दिएको छ। दाहालनिकट स्थायी कमिटी सदस्य लीलामणि पोखरेल सोमबार दिउँसो बहादुर भवनस्थित आयोग पुगेर ओलीमाथि हिजो बसेको स्थायी कमिटीको बैठकले कारवाही थालेको जानकारी दिएका हुन्।
पोखरेलले सोमबार दिउँसो पत्र बुझाएको जानकारी निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले दिएका छन्। ‘संसद विघनटपछिको अवस्थालाई लिएर नेकपाको नाममा एउटा पत्र आयोगमा आइपुगेको छ’, श्रेष्ठले भने, ‘त्यो जानकारी पत्रको विस्तृत विवरणबारे अध्ययन गरिरहेका छौं।’
नेकपाका पहिलो वरीयताका अध्यक्ष ओलीमाथि आइतवार धुमबाराहीमा बसेको दाहाल-नेपाल समूहको स्थायी कमिटी बैठकले अनुशासनको कारवाही अघि बढाउने निर्णय गरेको थियो। त्यही निर्णयको जानकारी लिएर पोखरेल निर्वाचन आयोगमा पुगेका हुन्।
तर प्रधानमन्त्री ओलीले आफू पहिलो वरीयताको अध्यक्ष भएको भन्दै उपाध्यक्षसरहका प्रचण्डले कारवाही गर्नै नसक्ने तर्क गरेका छन्। उनले सोमबार बालुवाटारमा संघीय सांसदहरुसँगको छलफलका क्रममा पहिलो वरीयताको अध्यक्षलाई उपाध्यक्षसरहका नेताहरुको निर्णयबाट गरिने कारवाही वैधानिक हुनै नसक्ने तर्क गरेका छन्।


























