काठमाडौं, पुस ६ । प्रतिनिधिसभा विघटन र मध्यावधि चुनाव घोषणासँगै फेरिएको राजनीतिक अवस्थाबारे दलहरु छुट्टाछुट्टै छलफलको तयारीमा छन्। प्रमुख प्रतिपक्ष नेपाली कांग्रेससहितका विपक्षी दलहरुको बैठक आज बस्दैछ। यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले पनि आफू निकट नेता र सांसदहरुसँग छलफल गर्दै छन्।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज दिउँसो ४ बजे पार्टी कार्यालय सानेपामा सर्वदलीय बैठक बोलाएकाछन्। बैठकमा प्रतिनिधिसभा विघटनपछि उत्पन्न परिस्थितिका विषयमा छलफल गरेर साझा धारणा बनाउने कांग्रेसले जनाएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेसँगै नेकपाका प्रचण्ड–नेपाल समूह तथा कांग्रेससहितका विपक्षी दलहरु असन्तुष्ट छन्। संसद विघटन गर्नु गैरसंवैधानिक र अलोकतान्त्रिक भएको भन्दै विपक्षी दलले आपत्ति जनाएका छन्।
यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीले बिहान आफू निकटका नेता तथा सांसदहरुलाई बालुवाटार बोलाएकाछन्। आफ्नो आउँदो रणनीतिबारे छलफल गर्न र जानकारी गराउन प्रधानमन्त्री ओलीले आफू निकट नेताहरुलाई बालुवाटार बोलाईएको बुझिएको छ।
प्रधानमन्त्री ओलीले हिजो मन्त्रिपरिषद्को बैठक राखेर प्रतिनिधिसभा विघटनको सिफारिस गर्नुभएको थियो। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गर्दै वैशाख १७ र २७ गते नयाँ चुनावको घोषणा गरेकी थिइन्। नेकपाको हिजो बसेको स्थायी कमिटी बैठकले ओलीलाई कारबाही गर्ने निर्णय गरेको छ।


























