चितवन, मंसिर ३० । राप्तीले गौतम बुद्ध कप प्रतियोगिता उपाधि जितेको छ। मंगलबार गौतम बुद्ध क्रिकेट रंगशाला नमुना मैदानमा भएको फाइनलमा नारायणीलाई ९ रनले पराजित गर्दै राप्तीले उपाधि जितेको हो।
जित लागि १ सय ४४ रनको विजयी लक्ष्य पछ्याएको नारायणीले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ३४ रन बनायो। नारायणीका युवा ब्याट्सम्यान आरिफ शेखले ३१ बलमा ४ चौका र ३ छक्का सहित सर्वाधिक ४८ रनको योगदान दिए।
दोस्रो ओभरको अन्तिम बलमा तीव्र गतिका बलर कमलसिंह ऐरीले भुवन कार्कीबाट राजु रिजाललाई ६ रनमा क्याच गराउँदै पहिलो सफलता दिलाएका थिए। ईशान पान्डेलाई जितेन्द्र मुखियाले दशौं ओभरको अन्तिम बलमा २७ रनमा लोकेश बमबाट क्याच गराए।
इशानले ३२ बलमा ३ चौका र १ छक्का प्रहार गरे। अभिनाश बोहराले १५ औं ओभरको अन्तिम बलमा ओपनर रित गौतमलाई २७ रनमा बोल्ड आउट गरे। रितले ३३ बलमा ४ चौका प्रहार गरे। सन्दीप जोरालाई भुवन कार्कीले शून्यमा बोल्ड आउट गरे।

सुशन भारी र कप्तान करण केसी एक एक रनमा आउट भए। भुवन कार्कीले ४ ओभरमा १९ रन खर्चेर २ विकेट लिए। अभिनाश बोहराले ३ ओभरमा २७ रन खर्चेर ३ विकेट लिए। कमलसिंह ऐरी र जितेन्द्र मुखियाको नाममा एक एक विकेट रह्यो।

त्यसअघि गौतम बुद्ध क्रिकेट रंगशाला नमुना मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको राप्तीले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४३ रन बनाएको थियो। राप्तीलाई ओपनर कुशल भुर्तेल र अमित श्रेष्ठले ५।४ ओभरमा ५१ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए।
स्पिनर साहब आलमले अमितलाई १८ रनमा बोल्ड आउट गर्दै पहिलो सफलता दिलाएका थिए। अमितले १७ बलमा ४ चौका प्रहार गरे। साहबलेनै आठौं ओभरको अन्तिम बलमा अनुभवी ब्याट्सम्यान शरद भेषावकरलाई १० रनमा क्याच आउट गराए।
११ औं ओभरको पहिलो बलमा साहबले कुशललाई ४२ रनमा बोल्ड आउट गरे। उनले ३१ बलमा २ चौका र ४ छक्का प्रहार गरे। कप्तान विनोद भण्डारी ३३, सुमित महर्जन २२, लोकेश बम ७ र भुवन कार्की ४ रनमा आउट भए।
नारायणीका स्पिनर शाहव आलमले ४ ओभरमा १९ रन खर्चेर ३ विकेट लिए। सुशन भारीले ४ ओभरमा ११ रन खर्चेर २ विकेट लिए। करण केसीको नाममा एक विकेट रह्यो। प्रतियोगितामा राप्ती, नारायणी र बागमती गरि तीन टोलीबीच प्रतिस्पर्धा भएको थियो।


























