चितवन, २९ मंसिर । नारायणगढको सहिदचोकस्थित महाबौद्ध महाबौद्ध बचत तथा ऋण सहकारी संस्थाले आठौँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ। विगतका वर्षहरुमा एकै दिन साधारण सभा सम्पन्न गर्ने गरे पनि यसवर्ष फरक परिस्थितिका कारण समय लगाएर साधारण सभा गरेको संस्थका अध्यक्ष ईश्वरीप्रसाद घिमिरेले बताए। मंसिर २१ गतेदेखि संस्थाकै कार्यालयमा सेयर सदस्य संख्याको आधारमा उपस्थित गराई सुझाव संकलन गरेका थियो। सोमबार भने संकलित सुझावसहित सभाको समापन गरिएको हो। कोरोना भाइरस संक्रमणको जोखिमले गर्दा सहकारीहरुको साधारण सभा गर्न सरकारले नै फरक खालको निर्देशन जारी गरेकोले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर साधारण सभा सम्पन्न गरेको उनले बताए।
हाल दुई हजार ७३८ जना सेयर सदस्य पुगेको सहकारीमा चालू आर्थिक वर्षभित्रमा तीन हजार पाँचसय पुग्ने लक्ष्य लिइएको उनले बताए। सेयर पुँजीमा दुई करोड ५० लाख रुपैयाँको लक्ष्य लिइएकोमा दुई करोड ५९ लाख रुपैयाँ पुर्याउन सफल भएको अध्यक्ष घिमिरेले बताए। अहिलेसम्म कोरोना भाइरसको जोखिम कम नभएकोले संस्थाले सोचेजस्तो काम गर्न नपाएको उनको भनाइ छ। सहकारीले भरतपुर महानगरपालिका क्षेत्रभित्र कार्यक्षेत्र बनाइ सेवा बिस्तार गर्ने योजना बनाएको छ। हाल भरतपुर १ सहिदचोकमा रहेको कार्यालयबाट सेवा दिँदै आएको सहकारीले भरतपुरको वडा नं. ९ र ११ मा सेवा केन्द्र विस्तार गर्ने अनुमति लिइसकेकोले चालू आर्थिक वर्षभित्रै सेवा बिस्तार गर्ने जनाएको छ।
आगामी दिनमा भरतपुरकै विकासचोक र मंगलपुर क्षेत्रबाट पनि सेवा दिने गरी सेवा केन्द्र बिस्तारको प्रकृया अगाडि बढाइएको अध्यक्ष घिमिरेले बताए। प्रतिनिधिमुलक कार्यक्रममा संस्थाका सचिव लक्ष्मणप्रसाद भुसालले पेस गरेको प्रगति प्रतिवेदन र कोषाध्यक्ष लक्ष्मीनारायण श्रेष्ठले पेस गरेको आर्थिक प्रतिवेदलाई सर्वसम्मत रुपमा पारित गरेको थियो। सरकारले सबै सहकारी संस्थाहरुलाई आउँदाे पुस मसान्तभित्र साधारण सभा सम्पन्न गर्न निर्देशन दिएकाे छ। सहकारी संस्थालाई साधारण सभा सम्पन्न गर्न १५ दिनकाे समयसीमा ताेकेकाे छ। साेहीअनुसार सबै सहकारीले साधारण सभा शुरु गरेकाे १५ दिनभित्र सकाउनुपर्ने छ।

























