काठमाडौं, मंसिर २७ । अर्थमन्त्री विष्णु पौडलले कोरोनाको भ्याक्सीनलाई सहज आपूर्ति सरकारको प्राथमिकता रहेको बताएका छन्। नेपाल आर्थिक पत्रकार संघको पाँचौं महासभाको आज काठमाडौँमा उद्घाटन गर्दै मन्त्री पौडेलले कोरोनाको गुणस्तरीय र तुलनात्मक रुपमा सस्तो भ्याक्सीनको सहज आपूर्ति गर्ने सरकारको अबको प्राथमिकता रहेको बताए।
विश्वबजारमा सहज हुने बित्तिकै नेपालले पनि कोरोनाको भ्याक्सीन आपूर्ति गर्ने बताउँदै उनले यसबारे अन्य देशहरुसँग छलफल भइरहेको बताए। अर्थमन्त्री पौडेलले कोरोनाको लक्षण देखिएका संक्रमित व्यक्तिहरुको परीक्षण र उपचार सरकारले गर्ने उल्लेख गरेका छन्। जनताको जीवनरक्षा र जीविकाको रक्षा सरकारको पहिलो प्राथमिकता रहेको उनको भनाइ छ। मन्त्री पौडेलले सरकारले कोरोना नियन्त्रण र रोकथामका लागि प्रभावकारी ढंगले काम गरेको बताएका छन्।
फरक प्रसंगमा उनले कोरोनाबाट अर्थतन्त्रमा पारेको प्रभाव कम गर्न सरकारले राहतको प्याकेज ल्याएको जानकारी दिए। मन्त्री पौडेलले नीजि, सहकारी र उत्पादनवाहक क्षेत्रका लागि सरकारले गरेको घोषणा अपूग भए छलफलमार्फत समस्या समाधान गर्ने प्रतिवद्धता जनाएका छन्।


























