काठमाडौं, मंसिर २७ । सरकारले उखुको न्यूनतम समर्थन मूल्य ८ रुपैयाँले बढाउने निर्णय गरेको छ। कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषदले न्यूनतम समर्थन मूल्य बढाएर प्रतिक्विन्टल ५ सय ४४ रुपैयाँ ३३ पैसा बनाउने निर्णय गरेको हो।
नयाँ मूल्यमा लागत ३८६ रुपैयाँ १६ पैसा, ढुवानी खर्च तथा मुनाफा ९२ रुपैयाँ ८९ पैसा र सरकारले दिने प्रतिक्वीन्टल अनुदान ६५ रुपैयाँ २८ पैसा रहेको मन्त्रालयका सहप्रवक्ता उर्मिला केसीले बताए। नेपाल उखु उत्पादक महासंघले चिनीको मूल्य एक किलोमा ३२ रुपैयाँले बढ्दा उखुको मूल्य भने निकै कम मात्रामा बढ्नु दुःखद भएको बताएको छ।
यता, किसानहरुले चिनी उद्योगीबाट लिनुपर्ने करिब ९० करोड उठाउन निर्णायक आन्दोलनको घोषणा गरेका छन्। पहिलो चरणमा भोलीदेखि माइतीघरमा शान्तिपूर्ण आन्दोलन हुने किसान संघर्ष समिति सर्लाहीका सचिव हरिश्याम रायले बताए।
नगदे बालीका रूपमा परिचित उखुखेती गर्ने किसानलाई बर्सेनि चिनी मिल सञ्चालकले भुक्तानीका लागि झुलाउने गरेका छन्। देशभर सञ्चालित १३ चिनी मिलमध्ये ६ वटाले भुक्तानी नदिएर दुःख दिएको किसानहरूको गुनासो छ।


























