काठमाडौं, मंसिर १७ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकुमार भट्टराईले विश्वभरका धार्मिक पर्यटकलाई पशुपति क्षेत्रमा भित्र्याउने गरी विकास निर्माणका काम अघि बढाउन लागिएको बताएकाछन्।
पशुपति क्षेत्र विकास कोष र एभरेष्ट बैंकले आज संयुक्त रुपमा आयोजना गरेको वातावरणमैत्री शवदाहगृह हस्तान्तरणका अवसरमा उनले प्रस्तावित गुरुयोजनालाई अन्तिमरुप दिन मन्त्रालयले प्राविधिक समिति गठन गरेको जानकारी दिए। समितिले स्थानीयवासीलगायत सरोकार निकायसँग छलफल गरी तीन महिनाभित्र मन्त्रालयमा प्रतिवेदन बुझाउनुपर्ने छ।
“मन्त्रिपरिषद्ले स्वास्थ्य सुरक्षाका विधि अपनाएर धार्मिक, सांस्कृतिक सम्पदालाई खुला गर्ने निर्णय गरेको छ, कोरोना सङ्क्रमण नफैलने गरी कोषले दर्शनार्थीलाई मन्दिर प्रवेश गराउनेछ”, उनले भने। कोषका सदस्य सचिव डा.प्रदीप ढकालले पशुपति क्षेत्रमा शवदाह गर्नेको सङ्ख्या बढ्न थालेकाले विभिन्न सङ्घसंस्थासँगको सहकार्यमा शवदाहगृह बढाउन लागिएको बताए। रासस


























