मंसिर ११ । भारतको दक्षिणी क्षेत्रमा भारी वर्षापछि आएको शक्तिशाली तुफान ‘निवार’ले जनजीवन प्रभावित भएको छ। दक्षिण भारतको तमिलनाडु र पोन्डीचेरीको कयौं क्षेत्रहरुमा भारी वर्षा र तीव्र गतिको हावासँगै ‘निवार तुफान’ प्रवेश गरेको छ।
तुफानबाट प्रभावित ती क्षेत्रका १ हजार घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको छ। तुफानका कारण सडकहरु अवरुद्ध हुनुका साथै केही घरका छानाहरु उडाएका छन्। ठाउँ ठाउँमा सवारी साधनहरु रुखले थिचिएका छन्।
भारतमा हरेक वर्ष आउने तुफानले एक सय भन्दा बढीको मृत्यु हुने गरेको छ। यो तुफान अहिले कमजोर हुँदै गए पनि खतरा भने नटरेको बीबीसी हिन्दीले जनाएको छ। तुफान हाल चेन्नई र महाबलीपुरमसम्म पुगेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्। भारतीय मौसम विभागका अनुसार सो तुफान प्रतिघण्टा १ सय २० देखि १ सय ४५ किलोमिटरको दरले अघि बढिरहेको छ। एजेन्सी
























