चितवन ३ मंसिर । पछिल्लाे समय नेपाली लाेक दाेहाेरी गीत संगीतकाे क्षेत्रमा सक्रिय सर्जक नारायण कँडेल ‘आफ्नाेपन’ मार्फत फेरि दर्शक स्राेतासमक्ष उपस्थित भएका छन्। देश बाहर बसेर पनि नेपाली गीत संगीतमा जीवन्त सृजना पस्किने सर्जककाे परिचय बनाएका कँडेल माैलिक सिर्जनामार्फत फरकपन दिलाउन माहिर छन्। कँडेलकाे शब्द, डा शिव सुवेदीकाे लय संकलन रहेकाे आफ्नाेपनमा आवाज भने लाेकप्रिय गायक एवम् सर्जक युवराज आचार्य र सुनिता बूढाले दिएका छन्।
गत सोमबार युट्युबमार्फत सार्वजिनक गरिएकाे गीतमा मायाप्रीतिका कुरालाई पनि फरक तरिकाले पस्किने प्रयास गरिएकाे गीतकार कँडेल बताउँछन्। ज्यादै मर्मस्पर्शी शब्दमा तयार भएकाे याे गीत साँचाे माया गर्ने प्रेमिल जाेडीहरुका लागि आफ्नै भाेगाई सावित हुन सक्ने उनकाे विश्वास छ। गीतकाे लय र शब्द नै वियाेगान्त भएकाेले यसकाे भिडियाेले थप वियाेगान्त बनाएकाे छ। कलाकारद्वय सनक कठायत र राेशनी कार्कीले अभिनय गरेकाे भिडियाेलाई विनाेद भण्डारीले निर्देशन गरेका छन् भने करण चैसिरले दृश्य कैद गरेका छन्। भिडियाे सम्पादन भने विकास ज्ञवालीले गरेका हुन्।
सजृक कँडेलका यसअघि ‘यस्तै छ कहानी’, ‘हरेक दिन नेपाली परदेशमा रुन्छ’, ‘सलामी’लगायत गीत चर्चित छन्। आफू पनि प्रवासमा रहेकाेले घरदेशी र परदेशीबीचकाे सम्बन्धलाई गीतमार्फत प्रस्तुत गर्न खाेजिएकाे उनी बताउँछन्। घरदेशमा रहेकाकाे सम्झनामा परदेशमा रहेकाहरु कति तड्पिएर बस्छन् भन्ने भावलाई गीतमार्फत प्रस्तुत गर्दै आएका छन्।


























