काठमाडौं, मंसिर ३ । नेपाल टेलिकमले नयाँ आर्थिक वर्षको पहिलो तीन महिनामा ४० प्रतिशत नाफा गुमाएको छ। टेलिकमले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार साउनदेखि असोजसम्म टेलिकमले कुल डेढ अर्ब नाफा गरेको छ। जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४० प्रतिशत कम हो।
नयाँ आर्थिक वर्षको पहिलो त्रैमासिकमा टेलिकमले १ अर्ब ५१ करोड ७७ लाख रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले २ अर्ब ६४ करोड ६७ लाख नाफा गरेको थियो। नयाँ आर्थिक वर्षको पहिलो त्रैमासमा सेवाबापतको आम्दानीमा पनि कमी आएको वित्तीय विवरणमा उल्लेख छ। कम्पनीले या अवधिमा सेवाबापत मात्रै ८ अर्ब ६३ करोड ५३ लाख रुपैयाँ आम्दानी गरेको छ। गत वर्ष यही अवधिमा सेवाबापत मात्र कम्पनीले ९ अर्ब ४ करोड ८ लाख रुपैयाँ आम्दानी गरेको थियो।
सेवातर्फ र अन्य आम्दानीसहित कम्पनीले यो त्रैमासमा १० अर्ब १० करोड ४४ लाख रुपैयाँ आम्दानी गरेको छ। अघिल्लो वर्ष सोही अवधिमा कम्पनीको कुल आम्दानी १० अर्ब ६० करोड ३९ लाख थियो। विश्वव्यापी रूपमा उपभोक्ता भ्वाइसबाट डेटातर्फ आकर्षित भइरहेको र ओभरदी टप एप्लिकेसनका कारण अन्तर्राष्ट्रिय भ्वाइस कलबाट हुने आम्दानी घटेको कम्पनीले बताएको छ।
एक देशबाट अर्को देशमा कल गर्दा महँगो हुने भएकाले उपभोक्ताले इन्टरनेटको सहायतामा विभिन्न एपमार्फत कुराकानी गर्न थालेपछि संसारभरका टेलिकम कम्पनीको आयमा असर परिरहेको छ। केही वर्षअघिसम्म नेपालका टेलिकमको आम्दानीको एकतिहाइ हिस्सा अन्तर्राष्ट्रिय कलबाट हुने गर्थ्यो।
वैदेशिक रोजगारीमा जाने कामदारको संख्यामा आएको कमीका कारण पनि आफ्नो आय प्रभावित भएको वित्तीय विवरणमा विश्लेषण गरिएको छ। कोभिड–१९ का कारण गरिएको लकडाउनका कारण पनि सेवातर्फको आय घटेको कम्पनीको विश्लेषण छ। लकडाउनका बेला सरकारको निर्देशनमा डेटा तथा भ्वाइस सेवातर्फ ३० प्रतिशत छुट दिनुपरेका कारण आयमा कमी आएको कम्पनीको निष्कर्ष छ। यस्ता बाह्य कारणले आयमा कमी आएको भए पनि कर्मचारीको काम गर्ने शैलीमा आएको परिवर्तन र सेवा विस्तारको परियोजनामा ढिलाइका कारण पनि सेवाको गुणस्तर सुधार प्रभावित बनेको वित्तीय विवरणमा जनाइएको छ।
फोरजी सेवा ७७ वटै जिल्लामा विस्तार भइसकेको र थप विस्तारको काम जारी रहेको टेलिकमले बताएको छ। गुणस्तरीय दूरसञ्चार सेवाका लागि ग्रामीण दूरसञ्चार कोषअन्तर्गत आफूले पाएको अप्टिकल फाइबर विस्तारको कामका लागि कम्पनी प्रतिबद्ध रहेको वित्तीय विवरणमा जनाइएको छ। नेपाल दूरसञ्चार प्राधिकरणअन्तर्गत रहेको ग्रामीण दूरसञ्चार कोषको रकम परिचालन गरी टेलिकमलाई प्रदेश १ देखि वाग्मती प्रदेशका सबै जिल्लाका सदरमुकाम छुने गरी अप्टिकल फाइबर विस्तार गर्ने जिम्मा दिइएको छ।
काम सुरु गरेको दुई वर्षमा सक्ने लक्ष्य लिइएको यो परियोजना सुरु भएको डेढ वर्षमा पनि भौतिक प्रगति सन्तोषजनक हुन सकेको छैन। प्राधिकरणको तथ्यांकअनुसार यो परियोजनाको भौतिक प्रगति १४ प्रतिशत मात्रै छ। यो क्षेत्रमा कुल २ हजार १ सय ७९ किलोमिटर अप्टिकल फाइबर बिछ्याउनुपर्नेमा हालसम्म असोज मसान्तसम्म ३ सय ८ किलोमिटर मात्रै बिछ्याइएको छ। कान्तिपुर दैनिकबाट।


























