काठमाडौं, मंसिर २ । नेपालमा पछिल्लो २४ घण्टामा थप ५०२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै कोरोना संक्रमितको संख्या २ लाख ११ हजार ४७५ पुगेको छ। देशभरका प्रयोगशालामा ३ हजार ११२ नमुना परीक्षण गर्दा २०४ महिला र २९८ पुरुषमा संक्रमण पुष्टि भएको हो। उनीहरुमध्ये ३३९ जना काठमाडौं उपत्यकाका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ३० हजार ९८६ रहेको छ।
पछिल्लो २४ घण्टामा थप २ हजार ८७८ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १ लाख ७९ हजार २४२ पुगेको छ। उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।
नेपालमा पछिल्लो २४ घण्टामा थप १७ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ। योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ हजार २४७ पुगेको छ।


























