परासी, मंसिर २ । पूर्वपश्चिम राजमार्गमा सवारी साधन रोकेर रकम मागेको अभियोगमा नवलपरासी (बर्दघाट सुस्तापश्चिम) प्रहरीले छ युवालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा बर्दघाट–४ का २४ वर्षीय कमल राना र मनिष कुँवर, २३ वर्षीय सञ्जय सुनार, २९ वर्षीय सुजनमान श्रेष्ठ, ३१ वर्षीय निर्मल खरेल र ३० वर्षीय सुजन तिमिल्सिना रहेको जिल्ला प्रहरी कार्यालय परासीका प्रहरी निरीक्षक राजीव श्रेष्ठले जानकारी दिए।
बर्दघाट नगरपालिका–४ स्थित राजमार्गमा समूहमा रहेका युवाले गाडी रोकेर जबर्जस्ती रकम असुली गर्ने क्रममा उनीहरु पक्राउ परेका हुन्। सो समूहले लमजुङबाट रुपन्देहीको खैरेनीतर्फ कुखुरा लिएर आउँदै गरेको प्रदेश ०३–००१ च ०२२० नम्बरको जिपलाई रोकी भेटेरेनरी बिल देखाउन भन्दै गाडीको साँचो खोसेर रकम माग गरेको थियो। साथै गाडीमा रहेका केही कुखुरामा क्षति पु¥याइएको प्रहरीले जनाएको छ।


























