काठमाडौं, मंसिर २ । चालु आर्थिक बर्षको पहिलो ३ महिना अर्थात् साउनदेखि असोजसम्म संघीय सरकारको कुल खर्च १३ प्रतिशतले बढेको छ। अर्थमन्त्रालयले हालै सार्वजनिक गरेको पहिलो त्रैमासिक तथ्यांकले यस्तो देखाएको हो।
गत आवको पहिलो त्रैमासमा संघीय सरकारले रु.१ खर्ब ७८ अर्ब १ करोड खर्च गरेको थियो। चालु आवमा त्यो भन्दा बढी अर्थात् २ खर्ब १ अर्ब ८ करोड खर्च भएको अर्थ मन्त्रालयको तथ्यांकले देखाएको छ।
सरकारको कुल खर्च बढेपछि पनि पुँजीगत खर्च भने घटेको छ। पुँजीगत खर्च अन्तरगत गत आवको समिक्षा अवधीमा १८ अर्ब ३७ करोड रुपैयाँ खर्च भएको थियो। चालु आवमा त्यो भन्दा पनि कम अर्थात् १५ अर्ब ५ करोड रुपैयाँ मात्र खर्च भएको छ। त्यो अनुसार पुँजीगत खर्च १८.१ प्रतिशतले घटेको देखिन्छ। बिशेषगरि कोभिड १९ संक्रमणको जोखिमका कारण विकास निर्माणका कार्यहरु निरन्तर सञ्चालन हुन नसक्दा पुँजीगत खर्चमा सुधार नआएको अर्थमन्त्रालयको भनाइ छ।
तथ्यांकअनुसार सरकारको चालु र वित्तिय व्यवस्था खर्च नै बढेको देखिन्छ। चालु खर्च १६.५ र वित्तिय व्यवस्था खर्च १८.४ प्रतिशतले बढेको छ।
गत आवको समिक्षा अवधीमा १ खर्ब ७४ अर्ब ७६ करोड रहेको चालु खर्च अहिले १ खर्ब ८२ अर्ब ६२ करोड रुपैयाँ पुगेको छ। यस्तै, गत आवमा २ अर्ब ८८ करोड रुपैयाँ रहेको वित्तिय व्यवस्था खर्च ३ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ।


























