मंसिर २ । राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्तरिमकालको प्रक्रियालाई अझै अवरोध गरेमा ‘धेरै व्यक्तिको कोरोना भाइरसका कारण ज्यान जाने’ राष्ट्रपतिमा निर्वाचित भएका जो बाइडेनले चेतावनी दिएका छन्।
अमेरिकामा पछिल्ला दिन लगातार संक्रमण तथा मृत्यु बढ्दो क्रममा छ। तर ट्रम्प प्रशासनले राष्ट्रपतिमा निर्वाचित भएका बाइडेनको अन्तरिम टिमलाई अत्यावश्यक सूचना तथा जानकारीहरुमा पहुँच दिएको छैन र सहकार्य गरेको छ।
नोभेम्बर ३ मा भएको चुनावमा पराजित भए पनि ट्रम्पले अहिलेसम्म हार स्वीकार गरेका छैनन्। उनले लगातार बिना प्रमाण चुनावमा धाँधली भएको र आफूबाट नतिजा खोसिएको आरोप लगाउँदै आएका छन्। कोरोना भाइरसको महामारी नियन्त्रणको प्रयास प्रभावकारी बनाउनका लागि सहकार्यको खाँचो रहेको राष्ट्रपतिमा निर्वाचित बाइडेनले अन्तरिम प्रशासनको हेडक्वाटर डेलवरमा बताएका हुन्।
उनले फेरि ट्रम्पले आफू पराजित भएको स्वीकार नगर्नु ‘लज्जाको’ विषय रहेको बताएका छन्। ट्रम्पको आलोचनामा पूर्व प्रथम महिला मिसेल ओबामा पनि आएकी छन्। उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘यो खेल होइन।
राष्ट्रपतिमा निर्वाचित भएका बाइडेनले ३०६ इलेक्टोरल कलेज मत पाएका छन्। चार वर्ष पहिले ट्रम्पले पनि त्यति नै इलेक्टोरल कलेज मत पाएका थिए, तर उनी कुल मतमा भने हिलारी क्लिन्टन भन्दा पछि परेका थिए।
ट्रम्पले भने सोमबार ट्वीट गरेर आफूले चुनाव जितेको दाबी गरेका थिए। ट्रम्पले देशभरका विभिन्न अदालतमा दायर गरेका मुद्धा प्रमाणको अभावमा खारेज हुने क्रम जारी छ।
अन्तरिमकाललाई सहज बनाउने जिम्मेवारी पाएको जनरल सर्भिस एड्मिनिस्ट्रेसन (जिएसए) ले अझैसम्म जो बाइडेन र कमला ह्यारिस विजयी भएको स्वीकार गरेको छैन। अहिलेसम्म बाइडेन–ह्यारिस प्रशासनलाई महत्वपूर्ण जानकारी दिइएको छैन। एजेन्सी


























