कार्तिक २७ । हङकङका प्रजातन्त्रवादी सांसदहरुले सामूहिक राजीनामा दिएका छन्। चीनले चार प्रजातन्त्रवादी सांसदलाई पदबाट हटाउन बाध्य गरेपछि उनीहरुले सामूहिक राजीनामा दिएका हुन्।
बुधबार बेइजिङ्गले राष्ट्रिय सुरक्षामा जोखिम ल्याउने राजनीतिज्ञलाई बर्खास्त गर्न पाउने अधिकारसहितको नयाँ व्यवस्था बेइजिङ्गले पारित गरेको थियो। त्यस लगत्तै हङकङका विपक्षी प्रजातन्त्रवादी सांसदहरुले सामूहिक राजीनामा दिएका हुन्।
सन् १९९७ मा बेलायतले चीनलाई हस्तान्तरण गरेपछि हङकङको संसद पहिलोपटक विपक्षी आवाज बिहीन भएको हो। चीनले पछिल्ला दिनमा हङकङको स्वतन्त्रता सीमित गर्ने प्रयास गरिरहेको आरोप लाग्दै आएको छ। चार सांसदलाई बर्खास्त गरिनु त्यसको पछिल्लो प्रयास रहेको विज्ञले बताएका छन्। हङकङ चीनकै भाग भए पनि त्यहाँ स्वतन्त्र स्थानीय सरकार रहेको छ।
तर सांसदको राजीनामा पछि डेमोक्र्याटिक पार्टीका अध्यक्ष वु ची–वाईले भने, ‘हामी अब विश्वलाई भन्न सक्ने छैनौँ कि हामीसँग अझै पनि एक देश, दुई प्रणाली कायम छ। आधिकारिक रुपमै सो व्यवस्था मरेको छ।’ बेलायतको उपनिवेश रहेको हङकङलाई सन् १९९७ मा सन् २०४७ मा एक देश दुई प्रणाली रहने गरि चीनलाई हस्तान्तरण गरिएको थियो।
हङकङको संसदमा ७० मध्ये १९ सिटमा प्रजातन्त्रवादी सांसद थिए। उनीहरु मध्ये चारजनालाई चीनको नयाँ नियमसँगै बर्खास्त गरियो। बाँकीले सामूहिक राजीनामा दिए। एजेन्सी


























