कार्तिक २६ । अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएका जो बाइडेनले राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनावको नतिजा स्वीकार गर्न नमान्नु वा हार स्वीकार नगर्नु ‘लाज’ को कुरा रहेको बताएका छन्। विश्वका विभिन्न देशका नेताहरुसँग सम्पर्क गरिरहेका राष्ट्रपतिमा निर्वाचित बाइडेनले कुनै पनि अवस्थामा शक्तिको हस्तान्तरण नरोकिने बताएका छन्। तर ट्रम्पले ट्वीट गरेर अन्ततः आफूले चुनाव जित्ने उल्लेख गरेका छन्।
हरेक चार वर्षमा हुने चुनावमा अमेरिकी सञ्चारमाध्यमले मतगणना अन्तिम चरणमा पुग्दै गएपछि विजयी हुने उम्मेदवारको नाम घोषणा गर्छन्। तर नतिजा स्वीकृत हुन समय लाग्छ। राज्यहरुले इलेक्टोरल कलेज मतलाई डिसेम्बर १४ मा प्रमाणिकरण गर्छन्।
मंगलबार पत्रकारले पराजय स्वीकार गर्न ट्रम्पले गरेको अस्वीकार बारे प्रश्न गरेका थिए। त्यसको जवाफमा बाइडेनले भने, ‘मलाई लाग्छ यो लाजको कुरा हो, स्पष्ट रुपमा भन्दा। गृहराज्य डेलवरको विलमिङ्गटनमा भएको पत्रकार सम्मेलनमा बाइडेनले भने, ‘यसले राष्ट्रपतिको लिगेसीलाई सहयोग गर्दैन।’ उनले जनवरी २० को शपथको दिनलाई लक्षित गरि अन्ततः राम्रो दिन आउने उल्लेख गरे।
सत्ता सम्हाल्ने तयारीमा रहेका बाइडेनले विश्वका विभिन्न देशका नेताहरुसँग टेलिफोन संवाद गरिरहेका छन्। उनले बेलायती प्रधानमन्त्री बोरिस जोन्सन, आइरिस प्रधानमन्त्री माइकल मार्टिन, फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोँ तथा जर्मन चान्सलर एंगेला मार्केलसहितसँग कुराकानी गरेका छन्। बाइडेनले ती संवादबारे भने, ‘मैले उनीहरुलाई अमेरिका पुनः फर्किएको जानकारी गराएको छु। हामी विश्व मञ्चमा फर्किँदै छौँ।’
बाइडेन र उपराष्ट्रपतिमा निर्वाचित भएकी कमला ह्यारिसले अन्तरिमककालको काम थाल्ने प्रयास गरेका छन्। तर ट्रम्प प्रशासनले अन्तरिमकाललाई अहिलेसम्म सहज बनाएको छैन। बाइडेनले भने कुनै पनि कुराले आफूहरुलाई कमजोर वा सुस्त नबनाउने बताएका छन्। एजेन्सी


























