काठमाडौं, कात्तिक २३ । पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको बेला प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आइतवार छलफल भएको छ। नेता नेपालसहित ५ जना सदस्यले ४८ घण्टाभित्र सचिवालयको बैठक राख्न अल्टिमेटम दिएको भोलिपल्ट दुई नेताबीच छलफल भएको हो।
स्थायी कमिटी सदस्य युवराज ज्ञवालीले केही नेतासहित नेता नेपाल बालुवाटार गएको लोकान्तरसँग पुष्टि गरे। प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा नेपाल पक्षका स्थायी कमिटी सदस्यहरु भीम रावल, सुरेन्द्र पाण्डे र रघुजी पन्तसमेत सहभागि छन्। पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको बेला सहमतिको प्रयास स्वरुप ओलीले नेपालसँग छलफल गरेका हुन्।
नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अगुवाइमा नेता नेपाल सहित सचिवालयका ५ जनाले ४८ घण्टाभित्र सचिवालयको बैठक बोलाउन शनिवार ओलीलाई पत्र बुझाएका थिए। पाँच नेपाले पत्र बुझाएको भोलिपल्टै ओलीले नेपालसँग गरेको छलफललाई अर्थपूर्ण रुपमा हेरिएको छ। पार्टीमा उत्पन्न विवाद समाधानका लागि नेकपाका दोस्रो तहका नेताहरुले पनि सक्रियता बढाएका छन्।


























