चितवन, कात्तिक २१ । चर्चित हाँस्यकलाकार मनाेज गजुरेलकाे स्वास्थ्यावस्थाबारे उनकी पूर्वपत्नी मीना ढकालले आफ्नाे फेसबुक वालमा प्रेमभावसहितकाे लामाे स्टाटस लेखेपछि सामाजिक सञ्जाल तातिएकाे थियाे। उनले कलाकार गजुरेल काेराेना संक्रमणका कारण सघन उपचार कक्ष (आइसीयू) मा उपचार गराइरहेकाे हुँदा चिन्ताजनक स्टाटस लेखेकी थिइन्। ढकालकाे स्टाटस आएकाे केही समयमै लाेकप्रिय कलाकार गजुरेलकाे स्वास्थ्यलाभकाे कामना गर्दै धेरैले स्टाटस लेखे। तर आम दर्शक तथा पाठककाे लागि भने के हाेला, कस्ताे हाेला भन्नेमा अन्याैलकाे अवस्था सिर्जना भइरहेकै बेला मनाेज गजुरेलले प्रतिक्रिया दिएका छन्।
उनले आफ्नाे फेसबुक अकाउन्टमार्फत स्वास्थ्यमा क्रमशः सुधार हुँदै आएकाे जानकारीसमेत गराएका छन्। ‘आराम छु, आरामको कामना गर्दछु। हिजोभन्दा आज धेरै राम्रो भइरहेको छ। स्वास्थ्यलाभको कामना गर्नुहुने सबैमा धन्यवाद’ उनले आफ्नाे फेसबुकमा स्टाटस लेखेका छन्। उनकाे याे स्टाटसले उनका धेरै फ्यान तथा शुभेच्छुकलाई केही मन शान्त बनाएकाे छ। कात्तिक १० गते काेराेना संक्रमण पुष्टि भएका गजुरेलले साेही दिन आफू अस्वस्थ भएकाे फेसबुकमार्फत नै जानकारी गराएका थिए। तर शुक्रबार उनकी पूर्वपत्नी मीनाले मनाेजबारे चिन्ताजनक स्टाटस नै लेखेपछि भने फेसबुकमा गजुरेलकाे स्वास्थ्यप्रति चिन्ता व्यक्त गर्दै धेरैले स्टाटस लेखेका थिए। काेराेना संक्रमण पुष्टि भएसँगै स्वास्थ्य अवस्था जटिल बनेपछि कलाकार गजुरेलकाे बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालमा उपचार भइरहेकाे छ।




















