रुकुमपूर्व, कार्तिक २१ । रुकुमपूर्वमा यस वर्ष तिहारमा देसी भैलो खेल्न नपाइने भएको छ। कोभिड–१९ को कारण देउसी भैलोका सम्पूर्ण कार्यक्रम स्थगित भएका हुन्।
देउसी भैलोको कार्यक्रममा धेरै जमघट हुने र कोरोना सङ्क्रमणको जोखिम झन उच्च हुने भएकाले यस वर्ष जिल्लामा देउसी भैलो खेल्न नपाइने जिल्ला प्रशासन कार्यालयले जनाएको छ। विगत एक महिनायता जिल्लामा कोरोनाका सक्रिय सङ्क्रमित छैनन्। जिल्लामा सक्रिय सङ्क्रमित छैनन् भनेर लापरबाही गर्न कसैलाई छुट नभएको प्रमुख जिल्ला अधिकारी राजकुमार राइले बताए।
विगतका वर्षझै तिहारमा दाइभाइ दिदीबहिनी कहाँ र दिदी बहिनी दाइभाइ कहाँ नजान पनि जिल्ला प्रशासन कार्यालय रुकुमपूर्वले सबैमा आग्रह गरेको छ। हामी रहेमात्र हाम्रा चाडपर्व रहन्छन् भन्दै उनले सबैलाई अहिले आफू बसिरहेको ठाउँमा सुरक्षित भएर बस्न जिल्लावासीलाई आग्रह गरेकाछन्।
यसपालीको तिहारमा कोहीकसैले निर्णय विपरीत देउसी भैलोको कार्यक्रम सञ्चालन गरेमा कानूनअनुसार कारवाही गरिने प्रजिअ राइले चेतावनी दिए। प्रजिअ राइले सबैलाई स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै दैनिक कामकाज एवं चाडपर्व मनाउन आग्रह गरेकाछन्। रासस


























