काठमाडौं, कार्तिक १८ । पछिल्ला केही दिन घट्दै आएको शेयर बजार परिसूचक नेप्से मङ्गलबार भने बढेको छ। नेप्से मङ्गलबार ५ दशमलव ४० अङ्कले बढेर १६ सय ४३ दशमलव शून्य ४ विन्दुमा पुगेको छ। मङ्गलबार बैंक र विकास बैंक बाहेक सबैजसो समूहको शेयर बढेको छ। निर्जीवन बीमा समूहको शेयर १ सय ७६, व्यापारको ५५ र अन्य समूहको शेयर १४ अङ्कले बढेको छ।
मङ्गलबार १ सय ९८ कम्पनीका ७७ लाख ५७ हजार कित्ता शेयर २ अर्ब २३ करोड ७९ लाख रुपैयाँमा किनबेच भएका छन्। सबैभन्दा धेरै नेपाल टेलिकमको शेयर १० करोड ३ लाख रुपैयाँको शेयर कारोबार भएको छ। विशाल बजार कम्पनी, समिट लघुवित्त वित्तीय संस्था, पाँचथर पावर कम्पनी र शिवश्री हाइड्रोका लगानीकर्ताले ९ प्रतिशतभन्दा धेरै कमाएका छन्। समग्र बजार बढे पनि महालक्ष्मी बैंक र दिव्येश्वरी जलविद्युतका लगानीकर्ताले साढे २ प्रतिशतभन्दा धेरैका दरले गुमाएका छन्।


























