काठमाडौं, कार्तिक १६ । कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट पछिल्लो २४ घण्टामा सुर्खेत, झापा र बाँकेमा ६ जनाको मृत्यु भएको छ। सुर्खेतको भेरीगङ्गा नगरपालिका– १२ का ३२ वर्षीय पुरुषको शनिबार राति मृत्यु भएको प्रदेश अस्पताल सुर्खेतमा उपचारका क्रममा मृत्यु भएको हो। ती युवकको तीन दिनअघि कोरोना परीक्षण गरिँदा रिपोर्ट पोजेटिभ आएको थियो।
यस्तै झापामा कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा दमक नगरपालिका, कमल गाउँपालिका र गौरादह नगरपालिकाका एकरएक जना पुरुष रहेका छन्। दमक–७ का अन्दाजी ५० वर्षीय वस्ती थरका पुरुष, कमल गाउँपालिका–५ मङ्गलबारेका ७२ वर्षीय खरेल थरका एक वृद्धको र गौरादह–४ मिलन चोकका ७४ वर्षीय वृद्धको मृत्यु भएको हो। योसँगै झापामा संक्रमित मृतक संख्या ४३ पुगेको छ।
यसैगरी बाँकेको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचाररत कोरोना संक्रमित दुई जनाको मृत्यु भएको छ। नेपालगञ्ज उपमहानगरपालिका–२० राँझा निवासी ६० वर्षीया महिला र टीकापुर नगरपालिका–१ कैलाली निवासी ६० वर्षीय पुरुषको शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको हो।




















