काठमाडौं, कार्तिक १६ । साताको पहिलो दिन आइतबार सुनको मूल्य तोलामा पाँच सय रुपैयाँ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य पाँच सय बढेसँगै आइतबार तोलाको ९५ हजार रुपैयाँमा कारोबार भइरहेको छ।
शुक्रबार सुन एक हजार रुपैयाँ घटेर तोलाको ९४ हजार ५ सय रुपैयाँ कायम भएको थियो। महासंघका अनुसार आइतबार चाँदीको मूल्यसमेत तोलामा १५ रुपैयाँ बढेको छ। चाँदी तोलाको ११ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ।
सुन आयात घट्यो
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) संक्रमणका कारण सुनको मूल्य बढेसँगै नेपालमा सुन आयात घटेको छ। यसअघि दैनिक १० किलोका दरले महिनामा विभिन्न बैंकले तीन सय किलोसम्म सुन आयात गर्ने गरेका थिए। महासंघका अनुसार नयाँ आर्थिक वर्ष सुरु भएपछिको तीन महिनामा एक सय किलो मात्र सुन आयात भएको छ। कोरोबार ठप्प हुँदा आयात घटेको महासंघले जनाएको छ।




















