काठमाडौं, कार्तिक १२ । बुधवार नेप्से परिसूचक कारोबार भएको दुई घण्टाको अवधिमा २४ दशमलव ४२ अंक बढेर १ हजार ६३० दशमलव ६७ विन्दुमा पुगेको छ। उक्त अवधिमा १७६ ओटा कम्पनीको रू १ अर्ब ११ करोड ७६ लाखभन्दा बढीको शेयर खरीदविक्री भएको छ।
नेपाल फाइनान्स कम्पनीको शेयर मूल्य ९ दशमलव ६२ प्रतिशत वृद्धि भएको छ भने सर्वाधिक कारोबार ग्लोबल आइएमई बैंकको भएको छ। बैंकको रू ११ करोड १३ लाख बराबरको शेयर खरीदविक्री भएको छ।
कारोबारमा आएका १२ ओटा समुहमध्ये जलविद्युत् कम्पनीको परिसूचक शून्य दशमलव ५३ प्रतिशत, निर्जीबन बीमा समुहको शून्य दशमलव १ प्रतिशत र उत्पादन तथा प्रशोधन समुहको शून्य दशमलव शून्य ७ प्रतिशत घटेको छ भने बाँकी समुहको परिसूचक बढेको छ।
सबैभन्दा बढी बैंकिङ समुहको परिसूचक ३ दशमलव शून्य २ प्रतिशत वृद्धि भएको छ। उक्त अवधिमा अधिकांश वाणिज्य बैंकहरुको शेयर मूल्य बढेको छ। वाणिज्य बैंकले लाभांश प्रस्ताव गर्न लागेसँगै लगानीकर्ताको आर्कषण बढेको देखिन्छ।


























