दमौली, कार्तिक ११ । स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएको तीन वर्षपछि बल्ल तनहुँको देवघाट गाउँपालिकामा प्रशासकीय भवन निर्माण शुरु भएको छ। हालसम्म भाडाको घरमा सञ्चालन हुँदै आएको सो गाउँपालिका–५ क्युदीमा भवन निर्माण शुरु भएको हो। सङ्घ र प्रदेश सरकारबाट बजेट प्राप्त भएपछि पालिकाले निर्माणको काम शुरु गरेको अध्यक्ष दुर्गबहादुर थापाले जानकारी दिए।
कूल रु सात करोड ५० लाख ७६ हजार एक सय १७ को अनुमान गरिएपनि निर्माण कम्पनीसँग रु पाँच करोड ४१ लाख ४९ हजार पाँच सय ८० मा सम्झौता भएको छ। भवन निर्माणको ठेक्का रविना÷अविसा जेभी काठमाडौले पाएको छ। निर्माण कम्पनीसँग गत असार १९ गते सम्झौता भएको थियो। विसं २०७९ असार १८ गतेभित्र भवन निर्माण सम्पन्न गर्ने अवधि तोकिएको छ।
गाउँपालिकाले हाल दुई वडा घर भाडामा लिएर सञ्चालन गर्दै आएको छ। बिजुली, पानीसहित गाउँपालिकाले कार्यालय सञ्चालनका लागि मासिक रु ८० हजार भाडा तिर्ने गरिएको छ। भवन निर्माणका लागि सङ्घ सरकारले रु दुई करोड रु प्रदेश सरकारले रु एक करोड सहयोग गरेको छ भने गाउँपालिकाले चालू आर्थिक वर्षमा रु दुई करोड विनियोजन गरेको छ। रासस


























