काठमाडौं, कार्तिक ५ । अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अमेरिकी राजदूत र्यान्डी बेरीबीच भेटवार्ता भएको छ। भेटमा मन्त्री पौडेलले नेपाल-अमेरिकाबीचको सम्बन्धबारे चर्चा गर्दै अमेरिका सरकारले नेपालको विकासमा निरन्तर गर्दै आएको सहयोगका लागि धन्यवाद दिएको मन्त्रालयले जनाएको छ।
अर्थमन्त्री र राजदूतबीच द्विपक्षीय आर्थिक सहयोग, कोभिड-१९ महामारीको नियन्त्रण र सोपछिको आर्थिक पुनरुत्थानमा हुने सहयोगलगायत विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ।
राजदूत बेरीले अमेरिकाबाट प्राप्त हुने सहायता कोरोना भाइरस नियन्त्रणमा केन्द्रित गरेको उल्लेख गर्दै अमेरिका सरकारले आगामी दिनमा नेपाललाई दिने सहयोगलाई निरन्तरता दिने प्रतिबद्धतासमेत गरेको जनाइएको छ। तर, अमेरिकी अनुदान सहयोगको मेलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विषयमा के कस्तो छलफल भयो भन्ने विषयमा भने मन्त्रालयले केही खुलाएको छैन।


























