कार्तिक ५ । दोस्रो पटक शान्ति सम्झौता भएको भनिएको अजरबैजान र अर्मेनियाबीच झन् धेरै भिडन्त भएको छ। बीबीसीका अनुसार काराबाखको उत्तरी र दक्षिणी क्षेत्रमा मंगलबार बिहानदेखि भिडन्त जारी छ।
अर्मेनियाको रक्षा मन्त्रालयका प्रवक्ता सुसन स्टेपनयानका अनुसार दक्षिण क्षेत्रमा युद्ध भइरहेको छ। उत्तरी क्षेत्रमा अजरबैजानका सेनाले एयरक्राफ्टको प्रयोग गरेको दाबी गरिएको छ।
अस्थायी शान्ति सम्झौता उल्लंघन भएको भन्दै गत आइतबार फेरि नयाँ सम्झौता गरिएको थियो। त्यसपछि त्यहाँ शान्ति छाउने अपेक्षा गरिएकोमा झनै युद्ध बढेको छ।
दुई देशबीच गएको सेप्टेम्बर अन्तिमबाट सीमा क्षेत्र नागोर्नो–काराबाख क्षेत्रमा भीडन्त भइरहेको छ। विवादित उक्त क्षेत्र अन्तर्राष्ट्रिय रुपमा अजरबैजानको भएको उल्लेख छ। तर, त्यस क्षेत्रमा आदिबासी अर्मेनियनहरू बस्दै आएका छन्। सन् १९९० को दशकको सुरुमा भएको सीमा भिडन्तमा हजारौँ मानिसको ज्यान गएको थियो।


























