काठमाडौं, कात्तिक ३ । संसदीय सुनुवाई समितिमा अमेरिका र बेलायतका लागि प्रस्तावित राजदूतहरूविरुद्ध उजुरी परेका छन्। अमेरिकाका लागि प्रस्तावित राजदूत युवराज खतिवडा र बेलायतका लागि प्रस्तावित राजदूत लोकदर्शन रेग्मीविरुद्ध गम्भीर प्रकृतिका उजुरी परेको संसदीय सुनुवाइ समितिले जानकारी दिएको छ। अमेरिका, बेलायत र दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूतविरुद्धका उजुरी संसदीय सुनुवाइ समितिले सोमबार खोलेको हो।
१० दिनको म्याद दिएर सार्वजनिक उजुरी आह्वान गरेपछि समितिमा दुईजनाविरुद्ध ४ उजुरी परेको समिति सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए। समितिले १७ गतेका लागि उजुरीकर्ताहरूलाई बोलाउने निर्णय गरिएको र छलफल गरेर थप स्पष्ट हुने उनले बताए।
दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूत निर्मलकुमार विश्वकर्माविरुद्ध भने उजुरी नपरेको बताइएको छ। संसदीय सुनुवाइ समितिबाट नाम अनुमोदित भएपछि राष्ट्रपतिले राजदूतहरूको नियुक्ति गर्ने कानुनी व्यवस्था रहेको छ।


























