चितवन, कार्तिक ३ । केन्द्रमा राजनीति गर्ने पूर्णकालीन हुने भए पनि स्थानीयस्तरका नेता कार्यकर्ताको आफ्नो पेशा नहुँदा टिक्न कठिन हुन्छ। पारिवारिक व्यवस्थापनसँगै राजनीति उनीहरुको बाध्यता हुने गर्दछ। विगतमा राजनीति मात्रै गर्दै गर्दा धेरैले आफ्नो सम्पत्ति सकेको गुनासो गर्ने गरेका छन्।
यस्तै माडीमा गएको स्थानीय निर्वाचनमा वडाध्यक्षमा पराजय भोगेका नीलकण्ठ काफ्ले यतिबेला राजनीतिसँगै बाख्रापालनमा लागेकाछन्। माडी नगरपालिका–७ का काफ्लेले सोही वडामा पराजय बेहोरेपछि व्यावसायिक बाख्रापालनमा लागेकाहुन्। ५७ वर्षीय काफ्ले अहिले माडी एग्रोफार्ममार्फत बोयर जातका बाख्रा पालेर पाठापाठी बिक्री वितरण गर्दै आएकाछन्।
स्थानीय तहको निर्वाचनमा एकीकृत नेपाल कम्युनिष्ट पार्टी माओवादीका तर्फबाट वडाध्यक्षको उम्मेदवार बन्नुभएका काफ्ले अहिले आफ्नै व्यवसायमा रमाउँदै आएकाछन्। उनले गएको एक वर्षमा रु १० लाखभन्दा बढीको बोयर जातका पाठापाठी बिक्री गरेको बताए। भारतको तामिलनाडु पुगेर शुद्ध बोयरको पाठा ल्याएर उनले व्यवसाय शुरु गरेकाहुन्। आफ्नो चाहना पूरा गर्नका लागि रु ५४ हजारमा १७ किलोको तीन महिने पाठो ल्याएर हुर्काउन थाले। तर छ महिनामै खोरभित्रका अन्य बाख्रा मर्न थाले। उनले भने, “५५ बाख्रामध्ये १५ वटामात्रै बाँचे।” बाख्राका पाठा मर्न थालेपछि बाख्रापालन नै छाड्ने स्थितिमा पुगेका काफ्लेले हार खाएनन्। बिरामी परेको बोयरको पाठोपछि तङ्ग्रिन थाल्यो। विगत सुनाउँदै भने, “अर्को वर्ष खोरमा ५० बाख्रा पुगे, बोयर क्रस गरेर पाठापाठी जन्मिन थाले।” त्यही बोयरमार्फत उन्नत जातका पाठापाठी जन्मिन थालेको उनको भनाइ छ। जसले खोर भरिन थाल्यो।
उनले विसं २०७५ मा रु १२ लाख बराबरका बोयरका पाठा बेचे। गत वर्ष करिब रु १० लाख बराबरको बेचे। विसं २०७६ को असारमा उनले अष्ट्रेलियाबाट २४ वटा बोयरका पाठी र छ वटा पाठा किनेर ल्याए। अहिले फार्ममा ६० वटा बाख्रा छन्। जसमध्ये ४० वटा माउ छन्। शुरुमा रु एक लाखको बाख्रा किनेर फार्म दर्ता गराएका काफ्लेले हालसम्म फार्ममा करिब रु एक करोड लगानी गरिसकेकाछन्। उनले भने, “यो वर्ष २० लाखका बोयरका पाठापाठी बेच्ने लक्ष्य छ।” बोयर उन्नत जातको बाख्रा हो, यसबाट उत्पादन लिन सजिलो हुने रहेछ उनको भनाइ छ।
छिटो हुर्कंने, तौल बढ्ने तथा रोग प्रतिरोधात्मक क्षमता बढी हुने भएकाले बोयर जातका बाख्राको माग बढ्दो छ। शुद्ध बोयर पाठा रु एक लाख ५० हजारदेखि रु दुई लाखसम्म बिक्री हुन्छ भने पाठी रु एक लाख ८० हजारसम्म बिक्री हुने गर्छ। दुई वर्षमा बोयरका बोका १०० किलो बढी तौलका हुन्छन्। शुद्ध बोयर बोका र स्थानीय बाख्राबीच क्रस गराएर जन्मने पाठापाठी चार महिनामा ४० किलो बढी तौलका हुन्छन्। अर्खाखाँची, स्याङ्जा, बुटवल, धनकुटा, पोखरासम्मबाट बोयरका पाठापाठी लिन आउने गरेको उनले बताए।
व्यावसायिकरुपमै अघि बढ्ने सोचका साथ उनले केही स्थानीयलाई लिएर धादिङ, गोरखा, तनहुँ, पोखरासम्म पुगेर उत्कृष्ट गाई, बाख्रा फार्म अवलोकन गरे। उनका तीन छोरामध्ये जेठो छोरा मनोरोग विशेषज्ञ डा.खगेन्द्र र माइलो छोरा हरि इञ्जिनीयर हुन्। कान्छो छोरा हिम भारतमा विद्यावारिधि गर्दै छन्। छोरासँगै नभए पनि श्रीमतीको प्रत्यक्ष साथ छ उनलाई। बाख्रा उत्पादनमा नश्ल सुधार अतिआवश्यक रहेको उनको भनाइ छ। यस फार्मलाई नमूना स्रोत केन्द्रका रुपमा विकास गर्ने योजना रहेको छ। फार्ममा शुद्ध बोयर, बोयरका ५० प्रतिशत क्रस, ७५ प्रतिशत क्रस गरेका पाठापाठी उत्पादन हुँदै आएको छ। फार्मबाट अहिले पाठापाठी मात्रै बेच्ने गरिन्छ।
बाख्रापालनका लागि चार बिघा जमिनको व्यवस्था गरिएको छ। जसमध्ये दुई बिघामा अहिले घाँसखेती छ। बाख्रापालनबाट भविष्य राम्रो भएको भन्दै उनले सीप र लगानी गरेर निरन्तरता दिएमा व्यवसायमा सफल बन्न सकिने बताए। उनले भने, “मिहिनेत ग¥यो भने विदेश जानुपर्दैन। स्थानीयस्तरमा राजनीति पनि छोडनु पर्दैन।” रासस


























