कार्तिक १ । चीनले नेपालको भूमि नमिचेको र हुम्लासँग सीमा जोडिएको आफ्नै भूभागमा भवन निर्माण गरिएको दाबी गरेको छ। नयाँ निर्माण गरिएको गाउँ बुराङ्ग काउन्टीको अलिमा रहेको चिनियाँ अधिकारीले दाबी गरेका छन्। सो क्षेत्र चीनको स्वायत्त क्षेत्र तिब्बतमा पर्ने बुराङ्ग काउन्टीका अधिकारीले चिनियाँ पत्रिका ग्लोबल टाइम्ससँग अन्तर्वार्तामा उल्लेख गरेका हुन्।
बुराङका परराष्ट्र सम्बन्ध निर्देशक बाकीले गएको मे महिनामा भवनहरु निर्माण गर्नुभन्दा पहिला सेनाका अधिकारी, स्थानीय नापी अधिकारी र सर्वेक्षण अधिकारीले विस्तृत रुपमा अध्ययन तथा सर्वेक्षण गरेको बताएका छन्। सो सर्वेक्षणबाट चिनियाँ क्षेत्र नै रहेको पुष्टि भएपछि मात्रै भवन बनाइएको दाबी उनले गरेका छन्।
बराङका परराष्ट्र सम्बन्ध निर्देशक उनले बाकीले भनेका छन्, ‘निर्माण भएको भवन पूर्णरुपमा चीनको भूभागभित्र पर्छ। सबैभन्दा नजिकको भवन दुई देशको सीमाभन्दा एक किलोमिटर टाढा रहेको छ।’
सो नयाँ गाउँ निर्माणको काम अन्तिम चरणमा पुगेको पनि उनले बताएका छन्। नेपाली पक्षबाट सीमा यकिनमा केही कमजोरी भएको हुन सक्ने चिनियाँ पक्षको दाबी छ।
नेपाली भूमिमा चीनले भवन बनाएको दाबीसहितको खबर बाहिरिएपछि चीनले सर्वेक्षण गरेको हो। नेपाल सरकारले चीनबाट भूमि नमिचिएको बताए पनि हुम्लाका स्थानीय बासिन्दाले चीनले भवन बनाएको क्षेत्र नेपालकै रहेको बताउँदै आएका छन्।


























