चितवन, असोज ३० । चितवन राष्ट्रिय निकुञ्ज आसपास बसोबास गर्ने समुदायले हरेक वर्ष निकुञ्जबाट समस्या खेप्दै आएका छन्। कहिले जंगली जनावरको आतंक त कहिले निकुञ्ज प्रशासनकै आतंक सहन बाध्य छन्। यसवर्ष पनि चितवनमा निकुञ्ज प्रशासनबाटै तीन घर चेपाङ परिवारले जीवनमै सबैभन्दा ठूलो पीडा सहन बाध्य भए। गत साउनमा राप्ती नगरपालिका वडा नं. २ गड्यौलीका राजकुमार चेपाङले सेनाको कुटाइबाट ज्यानै गुमाउन बाध्य भए भने माडी नगरपालिका वडा नं. ९ कुसुमखोलाका काजीराम प्रजा र दिपबहादुर प्रजा घरवारविहीन भए। निकुञ्जका कर्मचारीले चेपाङको घरमा आगो सल्काइदिएपछि उनीहरू घरवारविहीन भएका हुन्। अहिले पनि उनीहरू टहरोमुनि ओत लगाएर बसिरहेका छन्।
निकुञ्ज प्रशासनबाटै आसपासका क्षेत्रमा बसोबास गर्ने सिमान्तकृत चेपाङ समुदाय विचल्ली भएको थाह पाएपछि देश बाहिर रहेका नेपालका आदिवासी जनजाति समुदायको छाता संस्था नेपाल आदिवासी जनजाति महासंघ अन्तर्राष्ट्रिय समन्वय समिति (नेफिन आइसीसी)ले पीडित परिवारको घाउमा मल्हम लगाउने प्रयास गर्दै आएको छ। गड्यौलीका राजकुमार चेपाङको परिवारलाई केही समयअघि घर परिवार चलाउन केही सहज होस् भन्ने उद्देश्यले नगद एक लाख रूपैयाँ सहयोग गरेको नेफिन आइसीसीले शुक्रबार माडीका काजीराम र दिपबहादुरको परिवारलाई पनि प्रतिपरिवार ५० हजार रूपैयाँका दरले आर्थिक सहयोग गरेको छ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) केन्द्रीय समितिमार्फत आएको उक्त रकम केन्द्रीय समिति सदस्य राजु चौधरीमार्फत माडीको वडा नं. ९ स्थित वडा कार्यालय पुगेर वडा अध्यक्ष शिवहरि सुवेदीको रोहवरमा पीडित परिवारलाई हस्तान्तरण गरिएको हो। घटनास्थल कुसुमखोलासम्म पुग्न नसकेपछि पीडित परिवारलाई वडा कार्यालयमा बोलाएर वडाअध्यक्षको रोहवरमा रकम हस्तान्तरण गरिएको फोनिज केन्द्रीय समिति सदस्य राजु चौधरीले जानकारी दिए। नेफिन आइसीसीको सहयोगले विपन्न परिवारको घर निर्माणमा सहयोग पुग्ने उनले बताए।
वडाअध्यक्ष सुवेदीले पनि सही ठाउँमा उक्त रकम सदुपयोग हुने बताए। ती दुई घरबाहेक कुसुमखोलाका सबै चेपाङ परिवारलाई घर बनाइदिन नगरपालिकाको तर्फबाट पनि प्रयास भइरहेकोले नगरपालिकाको प्रयासमा नेफिन आइसीसीको सहयोगले ठूलो सहयोग पुग्ने उनको भनाइ छ। ‘दुई घरको लागि तोकेर आएको पैसा दुई घर परिवारकै लागि खर्च हुन्छ, नगरपालिकाले प्रयास गरिरहेको प्रयासबाट भएको संकलित रकम सबैको भागमा बाँडफाँड हुन्छ,’ उनले भने।


























