मोरङ, असोज २४ । मोरङको बेलबारीबाट प्रहरीले ६ जना जुवाडेलाई पक्राउ गरेको छ। बेलबारी ४ गर्जुराम टोलस्थित अशोक राईको घरमा जुवा खेल्दै गरेका ६ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले जुवा खेल्दै गरेको अवस्थामा दुई लाख ५३ हजार रकमसहित जुवाडेलाई नियन्त्रणमा लिएको हो।
मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काका अनुसार धनुषाको चारनाथ गणेशमान –८ पोर्ताहाका ५० वर्षीय पर्शुराम भुजेल, झापा दमक–५ का ३२ वर्षीय धर्मेन्द्र राई पक्राउ परेका छन्। यस्तै सुनसरी इटहरी–१ का ४७ वर्षीय प्रदीप तामाङ, मोरङको बेलबारी–३ का ४० वर्षीय रीत गुरुङ, बेलबारी–११ का ५६ वर्षीय सुजय गौतम र ५२ वर्षीय चन्द्र लिम्बूलाई पक्राउ गरिएको खड्काले बताए।
कौडा, तास, सवारी साधन र नगदसहित शुक्रबार साँझ ७ बजेतिर उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा प्रतिष्ठित र आफूलाई सामाजिक अगुवा एवं राजनीतिकर्मी भनेर चिनाउने व्यक्तिहरु समेत भएको प्रहरीले जनाएको छ।
पक्राउ परेकाहरुको साथबाट एक सेट कौडा, तीन बुक तास, दुई लाख ५३ हजार दुई सय ३५ रुपैयाँ नगद, को २ च २८१९ नम्बरको स्कोरपिओ गाडी, अनटेस्ट मोटरसाइकल र को २३ प १३८७ नम्बरको स्कुटर नियन्त्रणमा लिइएको खड्काले बताए। उनीहरूलाई जुवा ऐन अन्तर्गत कारबाही अघि बढाइने प्रहरीले जनाएको छ।




















